ओली मधेसको खलनायक हो ः प्रचण्ड – Jaleshwortoday

ओली मधेसको खलनायक हो ः प्रचण्ड

 ४ मंसिर २०७८, शनिबार २३:१०  
Prachand

जलेश्वरटुडे समाचारदाता
रौतहट, ४ मंसिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई मधेसको खलनायक भएको आरोप लगाएका छन्। माओवादी केन्द्रले रौतहटमा गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘संविधान अझै पूर्ण भएको छैन। मधेसी, आदिवासी, मुस्लिम, महिलाहरूलाई दिनुपर्ने अधिकार पूरा भएको छैन। यसको संरक्षण गर्दै संशोधन गरेर जानुपर्छ भनेर लागिरहेका छौँ ।’ आफू प्रधानमन्त्री हुँदा दुईपटक संविधान संशोधनको प्रस्ताव लग्दा समेत केपी ओलीले रोकेको आरोप लगाए। प्रचण्डले भने, ‘म प्रधानमन्त्री हुँदा दुईपटक संविधान संशोधनको प्रस्ताव लगे। तर, सफल हुन सकेन। त्यसका लागि केपी ओली भन्ने खलनायक बने। तपाईंहरूलाई थाहै छ होला नि मधेसी जनता, गणतन्त्र र संघीयताविरोधी ‘भिलेन’ को हो भन्ने?’ मधेसमा माओवादीहरूले संघीयता छाड्यो भनेर भ्रम फैलाइएको बताए। माओवादीविरुद्ध विदेशी प्रतिक्रियावादी शक्तिहरूसमेत लागेको जिकिर गरे। आफूलाई मधेसी जनताको हक अधिकारको रक्षा गर्न लागिरहेको स्पष्ट पारे । प्रचण्डले हिन्दी फिल्मको उदाहरण दिँदै भने, ‘तपाईंहरू मधेसको जनता हिन्दी फिल्म त हेर्नुभएकै होला। सुरुमा भिलेनले हिरोलाई सिध्याए सिध्याए जस्तो हुन्छ। भिलेन नै हिरो हो भनेजस्तो भ्रम दिन्छ। तर, पछि हिरो हिरो नै हुन्छ भिलेन भिलेनै। मैले मधेसी जनताको हिरो हो, तपाईलाई भ्रम भएको छ। मधेसीको प्रेमिका माओवादी नै हो। प्रष्ट हुनुस्।’ लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतो ओलीको टाङमुनि छिरेको आरोप लगाए। ओलीले प्रतिगमन गरेको देख्दा देख्दै ओलीको सरकारमा सामेल भएको उनको भनाइ छ। प्रदेश २ मा अब माओवादीमय हुने उनको दाबी छ। ‘गणतन्त्र र संविधान उल्टाउन राष्ट्रिय र अन्तराष्ट्रियस्तरको फटाहाहरूले चेष्टा गरे। खलनायकबाट सुरु गरियो। हामीले हतियार उठाएनौँ। सडकमा पुगेर आन्दोलन सुरु गरेका थियौँ’ प्रचण्डले भने। आगामी निर्वाचनमा माओवादी ०६४ सालमा जस्तो पहिलो पार्टी बन्ने सम्भावना भएकाले आक्रमण ढंगले लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।