
—राकेश प्रसाद चौधरी
जलेश्वर क्षेत्रलाई महादेवको नगरीको रुपमा चिनिएको छ । यस ठाउँमा जलभित्र ईश्वर अर्थात शिव महालिंग रहेकोले यो स्थानको नाम जलेश्वर हुन गएको किम्बदन्ती छ । प्रदेश नम्बर २ को राजधानी जनकपुरधामभन्दा १५ किलोमिटर पश्चिम(दक्षिण कुनामा जलेश्वर क्षेत्र पर्छ । यो एउटा शहरोन्मुख ठाउँ छ । हुनतः यो ठाउँ ४० बर्षदेखि शहरोन्मुख रहेपनि शहर बन्न सकेको छैन । अझैसम्म एउटा सानो बजारकै रुपमा छ । यहाँ जलेश्वर महादेवको विशाल मन्दिर छ । जसको पूर्व र पश्चिमतर्फ क्रमश पूरणदर(पूरणदह) र बरुणसर नामको विशाल सरोबर छ । जलेश्वर महादेवको मन्दिर परिसरमा प्रवेश गर्न मूलद्वार बनाइएको छ । हुनतः अझैसम्म यो पूर्णभएको छैन । पाँचबर्ष अगाडि बृहत्तर जनकपुर क्षेत्र विकास परिषदले २०३७ सालमा तान्त्रिक विधिद्वारा निर्मित परम्परागत मूलद्वार भत्काएर हालको संरचना निर्माण गराएको हो । पूरानो संरचना भत्काएको विरुद्ध उच्च अदालत जनकपुरमा रामविलास साहले दर्ता गराएको आदेशमा पूरानै डिजाइनको मूलद्वार बनाउनुपर्ने आदेश परिषदलाई दिइएको थियो । सन्तानविहीन स्थानीय रामनन्दन ठाकुरले आफ्नो जग्गा बेचेर २०३७ सालमा सो संरचना खडा गरेका थिए । मन्दिर परिसमा प्रवेश गरेपछि केन्द्रमा जलेश्वर महादेवको जलगुफामा विराजमान जलेश्वर महालिंग मन्दिर छ । यस मुख्य मन्दिरको पूर्वतर्फ मूलद्वार, रामजानकी ठाकुरजी शालिग्राम मन्दिर छ । त्यस्तै दक्षिणतर्फ त्रिशूली माताको मन्दिर छ । यो मन्दिरमा बाहिरैबाट बर्षभरि पुजा भएपनि चैत्र एवं असोजको दशहरा(दशैं)मा सर्वसाधारणका लागि मन्दिर खुल्ला हुनेगर्छ । त्यसको छेउमा किर्तनभवन र धुनिमण्डप छन् । मुख्य मन्दिरको मध्य दक्षिणमा पूर्वमुख फर्किएको पंचदेवको मन्दिर छ । यस मन्दिरमा राखिएको गणेश, दुई भैरव, सुर्यनारायणलगायतका मूर्तिहरु छन् यी मूर्तिहरु जगदीशनाथले तत्कालिन समयमा महालिंगको वरिपरी नै फेला पारेका थिए । पंचदेव मन्दिरको ठिक पछाडि वटबृक्ष छ । यहीँ वटबृक्षको मुनि बसेर ध्यान गर्ने जगदीशनाले पात भष्म भएको दृश्य देख्नुका साथै बिरालोमाथि मुसोले शासन गर्ने गरेको थियो । पश्चिमतर्फ बसहा नन्दी महाराजको सानो मन्दिर छ भने नजिकै पार्वती र जगदीशनाथको समाधीस्थल छ । जगदीशनाथले तुगलक सेनाको आक्रमणबाट अवशेषमा परिणत भएको मन्दिरलाई सोहैं शताब्दीमा जनसमक्ष ल्याएका थिए । पश्चिमतर्फ नै हनुमान मन्दिर पनि छ भने अगाडिमा तुलसी मण्डप तथा हनुमान झण्डा छ । उत्तरतर्फ उमा महोदरी शक्तिपीठ मन्दिर छ । माता सतीले देशत्याग गर्दा शरीरको एकअंश विदेह क्षेत्रमा रह्न गएकोले यो शक्तिपीठको नाम उमा महोदरी हुन गएको किम्बदन्ती छ । यसै मन्दिरको नामबाट कर्णाट एवं सेनवंशी शासकहरुले कोशीदेखि वागमतीसम्मको क्षेत्रलाई महोत्तरी राज्यको नामले शासन गरेका थिए , पछि विभिन्न कालखण्डमा यो जिल्लाको रुपमा परिणत भएको हो । जलभित्र नै महालिंग विराजमान रहेकोले नेपाली सेना तथा सशस्त्र प्रहरीले महिनाको पहिला तथा तेस्रो सोमवार गुफाबाट जल निकाल्ने गर्छन । गुफामा पुग्न १६ वटा भ¥याङ्ग पार गर्नुपर्छ । यो सतहभन्दा झण्डै १५ फिट जमिनमुनि छ । जलनिकाल्ने कार्यको विरोध धेरै समयदेखि हुँदै आएको छ । जलभित्र बेलपत्र र फूलपत्र नचढाउन मन्दिर व्यवस्थापनपक्षलाई स्थानीयले आग्रह गर्दा समेत बेबास्ता हुँदै आएको छ । अहिले देखिएको जलेश्वर महादेवको मूलमन्दिर १९९० सालको भूकम्पपछि निर्माण गरिएको हो । स्थानीयबाट चन्दा संकलन गरि मन्दिर निर्माणको कार्य तत्कालिन जनरल रामशम्शेर जबराले सम्पन्न गराएका थिए । मन्दिर निर्माणमा खर्च भएको रकमबारे कहिँकतै उल्लेख छैन ।
मन्दिरको वास्तुकला मनमोहक
मन्दिरको मुख्य सतहभन्दा सोह् भ¥याङ्ग मुनिको जलगुफाबाट ५१ फिटको भवन छ । महालिंगभन्दाबाट गजुरसम्मको भाग खाली रहेको छ । मन्दिर निर्माणको यो वास्तुकलालाई आधुनिक इन्जिनियरिङ्गले समेत अध्ययनको विषय मानेको छ । जलेश्वर महादेवको मुख्य मन्दिरमा राजपूत एवं शिखर शैलीको मिश्रित वास्तुकला हेर्न सकिन्छ । राजपूत शैलीको दुई भवनमा शेषनागको आकृति कोरिएको छ भने गजुरमा कमल पुष्प बनाइएको छ । त्यस्तै महालिंगको माथिल्लो भाग शिखर शैलीमा निर्मित छ । जसको मध्य भागको चार दिशामा समेत द्वारको नमूना बनाइएको छ । यो नमूना समेत अद्भूत छ । गजुरमा कमल पुष्ष बनाइएको छ । गजुरमा डमरु बाँधिएको त्रिशुल छ । मान्यता अनुसार यो त्रिशुल र डमरु कर्णटकालिन रहेको छ । तथापि यसको अध्ययन हुन सकेको छैन । मन्दिरको नक्सा कोर्ने एकजना भारतीय इन्जिनियर रहेको बताइन्छ । सहनी थरका ती इन्जिनियर भारत विहार अन्तर्गतको चरौतक्षेत्रका बासिन्दा रहेको बताइन्छ । भारतमा शासन गरिरहेका अंग्रेज हुकुमतका कारिन्दा भएर ती ईन्जिनियर काम गर्ने गरेको जनश्रुति छ ।
महाभुकम्प अर्थात १९९० साल अगाडि यो मन्दिर पशुपतिनाथ मन्दिरजस्तै आकृतिको रहेको जानकारहरु बताउँछन् । योगी जगदीशनाथले सोहैं शताब्दीमा सोनागढीबाट सुन ल्याएर जलेश्वर महादेवको मन्दिर निर्माण गराएका थिए । सोनागढीलाई हाल सनुखडा भन्ने गरिन्छ । यस क्षेत्रमा कर्णाटवंशी नाज्यदेवको शासन शुरु हुनु अगाडि राजा चेदीको दरवार रहेको विश्वास छ । यस विषयमा विभिन्न अध्ययन अनुसन्धानहरु भइरहेपनि सनुखडामा अझैसम्म सोनागढीमा माता भगवतीको मन्दिर यथावत छ ।
जलेश्वर क्षेत्रको धार्मिक इतिहास
ऐतिहासिक विदेह राज्य अन्तर्गतको मिथिला नगरीको चार कुनामै शिवालय छन् । जसमध्ये जलेश्वर महादेव दक्षिण(पश्चिममा अवस्थित छ । जहाँ राजा शिरध्वजकी छोरी जानकी दैनिक पुजापाठ गर्न आउने गर्थिन् । जलेश्वरको उत्पति सतयुगमा दैत्यहरुको त्रिपुर भष्मपछि भएको धार्मिक मान्यता छ । तत्कालिन समयमा दैत्यहरुको माया नगरी रहेको यो ठाउँ त्रिपुर भष्मपछि महेश्वरपुर र पछि रुद्रबाट ज्वाला महालिङ्ग सिद्ध भएपछि ज्वालेश्वरहुँदै त्यसभित्र जल आउन थालेपछि जलेश्वर भन्न थालिएको हो । त्रिपुर भष्म गरेका महादेवलाई शान्त गर्न जलका देवता वरुणले जलेश्वरमै विशाल सरोवर बनाईदिएका थिए । बृहद विष्णुपुराण अन्तर्गतको मिथिला महात्म्यमा नगरको चारै कुनामा शिवालयहरु रहेको चर्चा गरिएको छ । विभिन्न धार्मिक ग्रन्थहरुमा जलेश्वरनाथ शिवलिङ्ग स्वयं महादेवद्वारा स्थापित स्वम्भू लिङ्ग भनेर चर्चा गरिएको छ भने यसलाई महोदर, मनोकामना र महालिङ्ग भनेर व्याख्या समेत गरिएको छ । यो कालोपत्थर आकृतिको शिवलिङ्ग जलगुफामा अवस्थित छ । जलेश्वर क्षेत्रका अन्य तीर्थस्थल
जलेश्वर मन्दिर परिसरमा महोदरी शक्तिपिठ छ । विभिन्न धार्मिक ग्रन्थका अनुसार आफ्नै पिता दक्ष प्रजापतिको यज्ञकुण्डमा शरीरको आहुती दिएकी शतीको शरीरलाई महादेवले कैलाश लिएर जाँदा यस ठाउँमा उनको जंग बाहिनी खसेको थियो । जंगबाहिनीको अर्थ बायाँ पाखुरा भनेर अर्थाउने गरिन्छ । जलेश्वरको महत्वपूर्ण धार्मिकस्थलहरुमा संसारी माइ, राजदेवी, भृगु ऋषि आश्रम, ब्रम्हचारी कुटीर, बरुण र भृगु सरोवर सहितका छन् । जलेश्वरनाथ महादेव मन्दिरबाट दुई मिनेटको पैदल दुरीमा बरुण सरोबर छ । जनविश्वास अनुसार त्रेतायुगमा रामजानकी विवाहोत्सवमा आउनुभएका जलदेवता बरुणको निवासका यसै सरोबरमा थियो । महादेव मन्दिरको पश्चिमतर्फ पुरनधर सरोबर रहेपनि विभिन्न धार्मिक कार्यका लागि बरुण सरोबरको जल प्रयोगमा ल्याउने गरिन्छ । प्राचिनकालमा यो बाटो भएर आउनेहरुले यसै सरोबरसंग खाना पकाउने भाडाबर्तन माग्ने गरेको दन्त्यकथा छ । खाना खाएर बर्तन पुनः बरुण सरोबरलाई फिर्ता गर्ने चलन रहेको थियो । सरोबरको उत्तरवर्ती क्षेत्रलाई पर्वतीय डोर भन्ने गरिन्छ । प्राचिनकालमा यो बाटो चुरेको किनारमा भएको हुनसक्ने विश्वास गरिन्छ ।बरुण सरोबरको पूर्वी किनारमै जलेश्वरकी कूलदेवी संसारी माईको मन्दिर छ । प्रत्येक पाँच बर्षमा यहाँ महापुजा लाग्ने गर्दछ ।पहिले यो मेला १२ बर्षमा लाग्ने ग¥थ्यो । महापुजाका बेला जलेश्वरमा बसोबास गर्ने प्रत्येकको घरबाट एउटा जनावरको बली अनिवार्य हुने गर्दछ । देवीको मूर्ती काठको आकृतिमा बनाइएको छ । मन्दिरमा छाना लगाए अनिष्ठ हुने जनविश्वासका कारण पर्खालको घेरा मात्र लगाइएको छ । छेउमै रहेको ब्रम्हचारी कुटिर भित्र विश्वेश्वर महोदेव, रामजानकी सहितका मन्दिर छन् । केही दशक अगाडि यहाँ आउनुभएका एक ब्रम्हचारीले यस ठाउँमा मन्दिर बनाएका थिए । यो मन्दिर ११ औं शताब्दीमा कर्णाटबंशी शासकहरुले स्थापना गरेको मान्यता छ । मन्दिरकै छेउमा राणाकालिन जेल छ । राणाकालिन सत्ताको समाप्ती भइसकेको भएपनि उनीहरुले बनाएको यो जेलमा अहिले पनि क्षमता भन्दा बढी कैदी छन् । यसै मन्दिरबाटै जेलका कैदीहरु हेर्न सकिन्छ । संसारी माईको मन्दिरबाट दुई मिनेटकै पैदल दुरीमा राजदेवी मन्दिर छ । यस मन्दिर परिसरमा गणेश, संतोषी माँ, सरस्वती सहितका देवीदेवताका मूर्तीहरु छन् राजदेवी मन्दिर राजा जनकको पालादेखि नै रहिआएको छ । यहाँबाट बढीमा पैदल २० मिनेटको बाटो पूरा गरेर ऋषि भृगुको आश्रममा पुग्न सकिन्छ । यहाँ रहेको भृगु सरोबरमा कहिलेकाही कमलको फुल पनि हेर्न सकिन्छ । जलेश्वरबाट ७ किलोमिटरकै दुरीमा धार्मिक सोनउखडा गढ हेर्न सकिन्छ । यसै गढबाट निकालिएको सुनले जलेश्वरनाथ मन्दिर बनाइएको स्थानीयवासिनले दावी गर्दै आएका छन् । पुरातत्वको हिसाबले यस क्षेत्रका सबैभन्दा प्राचिनस्थल सनुखडा हो । त्यही ५ किलोमिटरकै दूरीमा रहेको रानी रतवारा, मटिहानीमा रहेको मठमन्दिर एवं मूतिकला अध्ययनयोग्य छ ।
अनुदार स्थानीय र प्रदेश सरकार
जलेश्वर नगरपालिका र प्रदेश नं.२ सरकार यस क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउन अझैसम्म पहल गरेको छैन । दुई बर्ष अगाडि जलेश्वर नगरपालिकाले जलेश्वर मन्दिरलाई टूष्टमा लैजान एउटा समिति बनाएको थियो ।
त्यो समिति अझैसम्म दोस्रो बैठक बस्न सकेको छैन । नगरपालिका र प्रदेश सरकार एवं पर्यटन मन्त्रालयबाट फुटकर योजनाहरु दिइएपनि अझैसम्म यस क्षेत्रको बिकासका लागि एकीकृत पर्यटन विकास योजना बनाउन सकिएको छैन ।
संविधानभित्र संघ,प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीभित्र पुरातत्व, प्राचीन स्मारक र संग्रहालय राखिएको छ । स्थानीय सरकार संचालन ऐन, २०७४ को दफा २६(छ)मा पर्यटन, प्रविधि तथा संस्कृतिको प्रबद्र्धन र विकासका लागि साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने ब्यबस्था छ । यस दफामा गाउँपालिका तथा नगरपालिकाले आफ्नो कार्यसंचालन गर्दा लागत न्यूनिकरण, स्रोत साधानको अधिकतम उपयोग र प्रभावकारी सेवा प्रवाहको लागि साझेदारी, सम्झौता वा संयुक्त व्यवस्थापन गर्न सक्ने उल्लेख छ । बृहत जलेश्वर पयर्टन क्षेत्रको विकास गर्न मटिहानी नगरपालिकासँगै संयुक्त रुपमा पिपरा, महोत्तरी, एकडारा गाउँपालिकासँग सहकार्यको अपार सम्भावना छ ।
सोही ऐनको दफा ९ मा सांस्कृतिक वा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने ब्यबस्था गरेको छ । दफा (१)मा प्रदेश सरकारले कुनै गाउँपालिका वा नगरपालिकाको ऐतिहासिक महत्व, पुरातात्विक वस्तु, कला वा सांस्कृति संरक्षण वा पर्यटन प्रबद्र्धन गर्न उपयुक्त देखेमा त्यसको लागि मापदण्ड तोकि कुनै गाउँपालिका वा नगरपालिका वा सो को कुनै क्षेत्रलाई चार किल्ला खोली सांस्कृति वा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्नेछन् । ऐनमा यस्तो व्यवस्था रहेपनि प्रदेश सरकारले यस प्रकारको गतिविधि वा सार्वजनिक सूचना सम्बिन्धित स्थलहरुमा टाँस गरेको छैन । त्यस्तै उपदफा (२)मा उपदफा (१) बमोजिम घोषणा भएका सांस्कृति वा पर्यटकीय क्षेत्रको विकासको लागि प्रदेश सरकारले विशेष कार्यक्रम तथा बजेटको ब्यबस्था गर्न सक्ने उल्लेख छ । त्यही उपदफा (३)मा उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि गाउँपालिका वा नगरपालिकाले आफ्नो क्षेत्रभित्र कुनै स्थानलाई सांस्कृति वा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने उल्लेख छ । ऐनले दिएको अधिकारबारे गाउँपालिका एवं नगरपालिकाका अध्यक्ष एवं नगरप्रमुख जानकारी नभएको होइनन् । त्यही सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत यस अधिकारबारे जानकार छन् । तथापि यस अधिकारको प्रयोग गर्न पछाडि परेका छन् र हचुवाको भरमा सांस्कृति एवं पर्यटकीय क्षेत्रमा नाम मात्रको लगानी गरिरहेको देखिन्छ ।
प्रदेश नं.२ का सांसद मात्र नभई संघीय सांसदसमेत नयाँ नयाँ मठ, मन्दिर र अन्य धार्मिक समूदायका लागि नयाँ नयाँ पूर्वाधारमा लगानी गरिरहेको पाइन्छ । त्यही पूरानो मठ मन्दिरको संरक्षण र पर्यटन प्रबद्र्धनमा लगानी शून्य प्रायः छ । त्यही नगरपालिका र गाउँपालिकाका प्रमुखहरु समेत संघीय र प्रदेश सांसदहरुकै पदचिन्ह पन्छाइरहेको पाइन्छ ।