जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ६ मंसिर
प्रदेश २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ, बेटी बँचाउ’ अभियान देशभर लैजानुपर्ने राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्न आएकी राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारी जनकपुरधाम, मटिहानी लगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद रहेको बताइन् । उनले प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा जोड दिइन् । सोही कार्यक्रममा सहभागी भएका प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासीनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराए । मुख्यमन्त्री राउतले प्रदेश प्रहरी ऐनलाई अझै पूर्णता नदिएको गुनासो गरे । मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डलको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश २ का प्रदेश प्रमुख हरिशंकर मिश्र, प्रतिनिधिसभा सदस्य तथा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, प्रतिनिधिसभा सदस्य चन्दा चौधरी, प्रदेशसभा सदस्य अभिराम शर्मा, रानी शर्मा, सुरिता साह, जैनुल राईन, जिल्ला समन्वय समितिका संयोजक सुरेशप्रसाद सिंह लगायतको उपस्थिती थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीलाई महोत्तरीको मटिहानीमा भव्य स्वागत गरिएको छ । रामानन्द सम्प्रदायका सिद्ध सन्त रामदास र सुफी सन्त (मुस्लिम धर्मगुरु) पिर बाबाको भूमि मटिहानीमा राष्ट्रपति भण्डारीलाई भव्य स्वागत गरिएको हो । करिब तीन करोड लागतमा एक बिघा १९ कठ्ठा क्षेत्रफलमा निर्मित रङ्गशालाको उद्घाटन पश्चात् राष्ट्रपति भण्डारीले मटिहानी स्थित नेपालकै जेठो विद्यालय राजकीय संस्कृत माध्यमिक विद्यालयको अवलोकन गरेकी छिन् । विद्यालय अवलोकनमा पुगेकी राष्ट्रपतिलाई छात्रले रुद्राभिषेक पाठ गर्दै स्वस्तिवाचन गरेका थिए । सो अवसरमा प्रधानाध्यापक ईश्व रीप्रसाद पौडेलले विद्यालयको भौतिक र शैक्षिक अवस्थाबारे राष्ट्रपतिलाई अवगत गराए । ५५० वर्षको इतिहास बोकेको मटिहानी स्थित लक्ष्मी नारायण मठमा पूजा अर्चना गरेकि छिन् । उनले लक्ष्मी नारायण मठको अवलोकन, लक्ष्मीनारायण मन्दिर र सन्त तश्मैयाबाबाको खन्तीको दर्शन र पूजाआराधना समेत गरिन् ।