राकेश प्रसाद चौधरी
महोत्तरी, ६ मंसिर
राष्ट्रपति विद्यादेवी भण्डारीले चुरे तराईको जीवन रहेकोले यसको संरक्षण भए समग्र तराईको दिगो विकास हुने बताएकी छिन् । चुरे संरक्षण केन्द्रित तथा बाढी नियन्त्रणसहितका कार्यक्रमले मात्र तराई समृद्ध हुने उनको कथन थियो । मटिहानी नगरपालिकास्थित रंगशालाको उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले जनताको सहज बसोबासका लागि शिक्षा, खानेपानी, गुणस्तरीय सडक, विद्युतिकरण, संचार सुविधा, ढल निकास र हरियालीमा ध्यान दिनुपर्ने बताइन् ।
अन्न भण्डार रहेको तराई क्षेत्रमा कृषिको आधुनि करण र व्यवसायीकरण गर्न सकेमा देशको आर्थिक समृद्धि हासिल गर्न सकिने बताउँदै राष्टूपति भण्डारीले जातिय छुवाछुत , भेदभाव, महिदा उत्पीडन, अन्धविश्वास, अशिक्षाले सिर्जित गरेको गरिबी र समस्या हाम्रा लागि चुनौती रहेको तर्फ ध्यानाकर्षण गराइन् । उनले जलेश्वर महादेव तथा लक्ष्मी नारायण मन्दिरसहितका ऐतिहासिक स्थलहरूको संरक्षण अहिले आवश्यकता रहेको बताइन् । महाकवि विद्यापतिको चर्चा गर्दै उनले मटिहानी शिक्षाको प्राचिन केन्द्र रहेको र ऋषिमुनिका कारण ज्ञानभूमिको रुपमा यो क्षेत्र परिचित रहेको चर्चा गर्दै उनले प्रदेश सरकारले ल्याएको बेटी बचाउ, महिला सशक्तिकरण कार्यक्रमले महिला उत्पीडनमा कमी ल्याउने आशा व्यक्त गरिन् । मटिहानीको पहिलो रंगशाला बनाउन एक करोड पाँच लाख रुपैया खर्च भएको जानकारी मेयर हरिप्रसाद मण्डलले दिए । यो रंगशाला एक विग्हा नौ कठ्ठामा फैलिएको छ । रंगशाला उद्घाटन समारोहमा प्रदेश प्रमुख हरिशंकर मिश्र, मुख्यमन्त्री लालबाबु राउत, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, सांसद चन्दा चौधरी, पूर्व प्रदेश राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सांसदहरू रानी शर्मा, सुरिता साह, जयनुल राइन, महोत्तरी जिल्ला समन्वय समितिका सभापति सुरेशप्रसाद सिंहसहितको सहभागिता थियो । रंगशाला उद्घाटन कार्यक्रम पश्चात् राष्टूपति भण्डारीले लक्ष्मीनारायण मठमा लक्ष्मी नारायण तथा तसमैया बाबाको दर्शन गरि ३०३ बर्ष पूरानो संस्कृत पाठशालाको अवलोकन गरेकी थिइन् । सो लगत्तै सात किलोमिटर टाढा रहेको प्राचिन जलेश्वर महादेव मन्दिरमा दर्शन गरेर राजधानी फिर्ता भइन् ।