नेपाल सद्भावना पार्टीका संस्थापक नेता पाठकको ८२ वर्षको उमेरमा निधन – Jaleshwortoday

नेपाल सद्भावना पार्टीका संस्थापक नेता पाठकको ८२ वर्षको उमेरमा निधन

 ८ मंसिर २०७८, बुधबार २३:४३  
Nesapa

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ८ मंसिर

नेपाल सदभावना पार्टीका संस्थापक नेता केदारनाथ पाठकको आज बिहान निधन भएको छ । मधेश र मधेशीको हक अधिकारलाई संस्थागत रुपमा स्थापित गर्नका लागि नेता गजेन्द्र नारायण सिंहको सहयात्री भएर नेपाल सदभावना पार्टीको स्थापना गर्नुभएको महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका– ७ बजराही गाउँ निवासी नेता केदारनाथ पाठकको ८२ वर्षको उमेरमा आज बिहान ४ बजे निधन भएको उहाँको छोरा अरुणकुमार पाठकले बताउनुभयो । ढाडको हड्डी सम्बन्धी समस्या भएर विगत ५ वर्षदेखि बेडमै रहनुभएका नेता पाठकको हालको जलेश्वर नगरपालिका वडा नं.–८ बजराही गाउँमा अवस्थित आफ्नै निवासमा निधन भएको हो । नेपाल सदभावना पार्टीका स्थापना गरेर मधेश र मधेशीको हक अधिकारका लागि आवाज उठाउनुका साथै विभिन्न आन्दोलनमा उनी सक्रिय भूमिका रहनुभएको थियो ।आजिवन मधेश र मधेशीको हक हितका लागि लडिरहने नेता पाठक पछिल्लो दिनमा मधेशवादी दलहरु एकिकरण भएपछि तत्कालिन राजपा नेपालका केन्द्रिय सदस्य भएर बसिरहनुभएको थियो । पंचायती कालमा एक पटक आफ्नै वडा तत्कालिन जलेश्वर न.पा.७ मा उहाँ निर्विरोध वडा अध्यक्ष पनि निर्वाचित हुनुभएको थियो । भने उहाँले २ पटक संसदीय निर्वाचन र एक पटक (पहिलो) संविधान सभा निर्वाचनमा पनि सदभावना पार्टीबाट चुनाव लडनुभएको थियो । पेशाले औषधी व्यवसायी समेत रहनुभएका नेता पाठक नेपाल औषधी व्यवसायी महासंघको लगातार आठ वर्षसम्म केन्द्रिय उपाध्यक्ष पनि रहनुभएको थियो ।त्यसैगरी उहाँ महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको रामनन्दन विशेश्वर महेन्द्र क्याम्पसको स्थापना कालमा उपाध्यक्ष समेत रहनुभएको थियो । नेता पाठक नेपाल रेडक्रस महोत्तरी शाखाको आजिवन सदस्य समेत रहनुभएको थियो । नेता पाठकको एक पत्नी, तीन छोरा एक छोरी रहेका छन् । उहाँको निधनले मधेश र मधेशीलाई अपूर्णिय क्षति भएको छ भने उहाँको निधनमा लोसपा नेपालले उहाँलाई आफ्नो पार्टीको झण्डा ओढाएर उहाँको सम्मान गरेको छ भने अहिले विभिन्न मधेशवादी दल सहित अन्य सबै दल र विभिन्न नेताहरु उहाँकोश्रद्धाञ्जलीका लागि उहाँको निवासमा घुँईचो लागेको छ ।
उहाँका जेठो छोरा अरुणकुमार पाठकका अनुसार उहाँको आजै दिनको १२ बजे आफ्नो गाउँमै अन्तिम संस्कार गरिनेछ ।