
विश्वमा जति पनि सबल राष्ट्रहरु छन् ती राष्ट्रहरु औद्योगिक रुपमा विकसित तथा सबल छन् । नेपालको आर्थिक अवस्था अहिले पनि सुदृढ नहुनको कारण यहाँ औद्योगिक विकास नहुन सक्नु हो । नेपालले हिजै ‘स्वदेशी उद्योग र उत्पादन ः दिगो औद्योगिक पुनरुत्थान’ भन्ने नारासहित सातौ उद्योग दिवस मनाएका छन् । तर यस नारालाई व्यवहारमा समेत लागु गर्न जरुरी छ । नेपालको अर्थतन्त्र अहिले पनि बैदेशिक अर्थतन्त्रमा आधारित छ । अहिले पनि यहाँ सरकार ऋणमा चुर्लुम्म डुबेका छन् । सरकार ऋणमा हुनु भनेको यहाँको जनता समेतमा ऋणमा रहेको बुझिन्छ । नेपालको बार्षिक बजेट समेत बैदेशिक सहयोगमा निर्भर छ । जबसम्म नेपाल स्वयं आत्म निर्भर भएर मेक नेपाल भन्ने नाराको साथ अघि बढदैन तबसम्म यहाँको आर्थिक विकासको बारेमा सोच्नु दिबा स्वप्न हेरे झै हुने छ । नेपालमा ठूला—ठूला अर्थविद् तथा सल्लाहकार भए पनि व्यवहारमा यहाँको अर्थव्यवस्था सृजनशिल नभएर जनतालाई दिनु भन्दा जनताबाटै पालनपोषण हुने मनसायबाट ओतप्रोत भएको छ । यहाँ देश चलाउने शासकदेखि सहयोगीहरु समेत राजनीति तथा आफ्नो पद तथा दल बचाउनमा लागेका छन् । त्यसकारण अव नेपालको आर्थिक विकासदेखि अन्य नेतृत्व युवाले लिन जरुरी छ । एक घर एक उद्योगको मन्त्रबाट जबसम्म नेपाल अगाडी बढदैन तबसम्म यहाँको आर्थिक विकास असम्भव देखिन्छ । देशको प्राकृतिक,धार्मिक,साँस्कृतिक र पर्यटकीय सम्पदाको विकास तथा प्रचारप्रसारमा सबैले जुट्न आवश्यक छ ।