
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १० मंसिर
भारतले यही डिसेम्बर १५ गतेदेखि अन्तर्राष्ट्रिय हवाइ उडान सुचारु गर्ने भएको छ । भारतको नागरिक उड्डयन मन्त्रालयलाई उदृत गर्दै डिसेम्बर १५ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान सुचारु हुन लागेको पीटीईले जनाएको छ । उड्डय मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग सल्लाह गरी उक्त निर्णय लिएको समाचारमा उल्लेख छ । तर डिसेम्बर १५ देखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान हुने मुलुकको सूचीमा भने चीनसहित १४ मुलुकको नाम समावेश गरिएको छैन । सूचीमा चीनसहित बेलायत, फ्रान्स, जर्मनी, नेदरल्याण्ड, फिनल्याण्ड, दक्षिण अफ्रिका, ब्राजिल, बंगलादेश, बोत्स्वाना, मौरिसस, न्यू जिल्याण्ड, जिम्बाब्बे र सिंगापुर नपरेको स्रोतलाई उदृत गर्दै समाचारमा लेखिएको छ । भारत सरकारले लकडाउन लगत्तै गत वर्षको मार्च महिनादेखि अत्यावश्यक वस्तु ढुवानी तथा सुपुर्दगी सेवाको हकमा बाहेक अन्तर्राष्ट्रिय हवाई उडानमाथि प्रतिबन्ध लगाएको थियो । तर कोभिड–१९ का संक्रमित घट्न र खोप लगाउनेको संख्या बढ्न थालेपछि प्रतिबन्ध क्रमशः खुकुलो पार्दै लगिएको थियो । यस क्रममा भारतले २५ मुलुकसँग ‘एयर बबल’ सहमति समेत गरेको छ ।