जलेश्वरटुडे समाचारदाता
धनुषा, १२ मंसिर
जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहको राजीनामा माग गर्दै उपमहानगरपालिकाकै जनप्रतिनिधिहरू यतिबेला काठमाडौं पुगेका छन्। जनकपुरधाम उपमहानगरपालिकाले फोहोर व्यवस्थापन गर्न कुनै चासो नदेखाएको भन्दै वडाका जनप्रतिनिधिहरू आरोप लगाउँदै काठमाडौं गएका हुन्। मेयरको राजीनामा माग गर्दै काठमाडौं जाने जनप्रतिनिधिहरूमा उपमहानगरपालिका वडा नम्बर ३ वडा अध्यक्ष दीपेन्द्र साह, ४ का सुदर्शन सिंह, ७ का जानकीराम साहलगायत २९ जना छन्। उनीहरूले आज सामान्य प्रशासन मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको वडा नम्बर ३ का वडाध्यक्ष साहले जानकारी दिए । नगर सरसफाइका लागि मेयरलाई भनेर थाकिसके पनि कुनै सुनवाइ नभएपछि काठमाडौं जान बाध्य भएको वडाध्यक्ष साहले बताए। फोहोर व्यवस्थापनका लागि अहिलेसम्म कुनै पहल नभएको साहको भनाइ छ। भने, हामी नगरमा दबाब दिएर थाकिसक्यौँ। सफा गर्छाैँ भनेर आश्वासन मात्रै पाइयो, काम हुनै नसकेपछि मेयरको राजीनामा मागेर काठमाडौं आएका हौँ। केही दिनअघि मात्र पनि वडा ३, ४ र ७ का अध्यक्षहरूले संयुक्त रूपमा मेयरलाई भेटेर सफाइका लागि दबाब दिएका थिए। उनीहरूले माग सुनुवाइ नभएपछि मेयर साहको कार्यकक्षमा तालाबन्दीसमेत गरेका थिए ।
जनकपुरधामको ठूलो तथा ऐतिहासिक विवाहपञ्चमी महोत्सव मुखमै आइसक्दा पनि जनकपुरधाममा फोहोर व्यवस्थापनमा कुनै काम भएको छैन। लामो समयदेखि फोहोर उठ्न नसक्दा धार्मिक नगरी जनकपुरधाम कुरूप र दुर्गन्धित बनेको छ ।