जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ मंसिर
रामजानकी विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज (शनिबार) फूलबारी लीला मनाइएको छ । भगवान राम र लक्ष्मणको प्रतीकका रूपमा एक जोडा बालबालिकालाई सजाइ जानकी मन्दिर छेउमै रहेको विवाहमण्डप प्रांगणको फूलबारीमा घुमाइ सीतासंग भेटघाट त्रेता युगमा भएको दृष्यलाई दोहोर्याइयो । त्रेता युगमा भगवान राम र लक्ष्मण जनकपुर आएको बेला फूलबारीमै फूल सखीसहेलीसंग गएकी सीताको पहिलो भेट भएको रामायणमा उल्लेख छ । सोहि अनुसार विवाहपञ्चमी महोत्सवको दोश्रो दिन बालबलिकालाई राम, लक्ष्मण र सीताको प्रतिक बनाइ फूल बारीमा घुमाउने र भेटघाट गराउने गरिन्छ । यसअघि सात दिवसीय सो महोत्सवको पहिलो दिन हिजो (शुक्रबार) एकजोड बलबालिकालाई राम र लक्ष्मणको प्रतिक बनाइ नगरदर्शन गराइएको थियो । मंसिर २३ गतेसम्म चल्ने विवाहपञ्चमी महोत्सवको तेश्रो दिन भोलि (आइतबार) मंसिर १९ गते गते धनुष यज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर र विवाह तथा २३ गते रामकलेवा हुनेछ । मंसिर शुक्ल पञ्चमीका दिन त्रेता युगमा भगवान राम र सीताको विवाह जनकपुरधाममा भएको सम्झनामा प्रत्येक वर्ष विवाहपञ्चमी महोत्सव भव्य रुपमा मनाइन्छ ।