
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० मंसिर
धार्मिक एवं साँस्कृतिक नगरी मटिहानी नगरपालिकाले धार्मिक स्थल निर्माणमा तीव्रता दिएको छ। मटिहानीमा साढे पाँच सय वर्ष पुरानो लक्ष्मीनारायण मठ छ । यो सँगै थुप्रै मठ मन्दिर, धर्मशाला छन्। त्यसको संरक्षण सम्वर्द्धनमा नगरपालिका जुटेको छ । त्यहाँ जाने बाटोघाटो र पूल निर्माण थालिएको छ । मटिहानी नगरपालिकाका मेयर हरिप्रसाद मण्डलले सोमबार पासमान जातिको कूलदेवता सलहेश मन्दिरको शिलान्यास गरेका छन्। मटिहानी–२ मा निर्माण हुन लागेको मन्दिरको बजेट ८ लाख रहेको नगरपालिका प्राविधिक अनिल साहले बताए । मटिहानी–७ मा मणिराम बाबा कुट्टी भवनको निर्माण थालिएको छ। कुट्टी भवन निर्माणका लागि नगरपालिकाले ११ लाख ८४ हजार बजेट बिनियोजन गरेको छ । त्यसैगरी मटिहानी–९ स्थित सिमरदहीमा सिमरदही र प्रकौली जोड़ने सडकको सिमरदही मुस्लिम टोलमा कलभर्ट (पुल) निर्माण थालिएको छ। त्यहाँ पुल नहुँदा वर्षायाममा आवतजावत गर्न कठिन हुने गरेको स्थानीय समाजसेवी मरनीदेवी साह बताउँछिन् । पुल निर्माणका लागि नगरपालिकाले करिब २८ लाख ५४ हजार रुपैयाँ खर्च गरेको छ। कलभर्ट पुल फागुन मसान्तसम्म निर्माण भइसक्ने मटिहानी नगरपालिकाका प्राविधिक विमलेश साहले बताए। ‘सात प्रकारका माटोहरूको संगम स्थल–सप्तमृतिका पनि मटिहानीसँग छ। त्रेता युगमा राम र सीताको विवाह हुँदा वेदी बनाउन माटो खनेर लगिएको मिथिलाको पावन भूमिले पौरानिकता भलकाउँछ,’ राजकीय सँस्कृत माध्यमिक विद्यालय मटिहानीका प्राचार्य ईश्वरीप्रसाद पौडे्ल भन्छन्, ‘मटिहानीमै ३०३ वर्ष पुरानो देशकै जेठो ‘राजकीय सँस्कृत माध्यमिक विद्यालयले यहाँको विगतलाई दर्शाउँछ।’ स्थानीय सरकार आएपछि मटिहानीका मठमन्दिर, शैक्षिक तथा धार्मिक स्थलको संरक्षण, सम्वर्द्धनका लागि परेको छ। तर बजेट अभाव छ। हालै मटिहानी नगरपालिकाले नगरभित्र रहेका प्रतापी थान मन्दिर, राघोबाबा मन्दिर, पासवान जातिका कूलदेवता राजा सलहेशको मन्दिरको जीर्णोद्धार तथा नयाँ गरिएको मेयर मण्डल बताउँछन्। मटिहानी बजारमा घण्टाघर निर्माण गरिएको छ। जहाँ घण्टैपिच्छे समयको बोध गराउँछ। जलेश्वर–मटिहानी सडक र मटिहानी–जनकपुर सडक (रामजानकी पथ)मा नगर प्रवेशद्वार बनाइएको छ। लक्ष्मीसागरमा मनोरम घाट र चित्ताकर्षक पक्की घेराबेरा छ । मटिहानी नगरपालिका, प्रदेश सभा सदस्य अभिराम शर्मा र प्रतिनिधिसभा सदस्य महन्थ ठाकुरको संसदीय विकास कोषको रकम धार्मिक स्थल तथा मठमन्दिर निर्माणमा खर्चिएको छ। मटिहानीबजारमा अतिथिगृह निर्माण गरिएको छ। लक्ष्मीनारायण मठअगाडि भव्य दुर्गा मन्दिर र विद्यालय परिसरमा नेपाली सेनाले अन्नपूर्ण भोजनालय निर्माण गरेको छ ।