जन्तीको स्वागतमा जुट्न जरुरी – Jaleshwortoday

जन्तीको स्वागतमा जुट्न जरुरी

 २० मंसिर २०७८, सोमबार २३:१८  
Education

विवाहपञ्चमीमा अयोध्याबाट आउने जन्तीको स्वागतमा सबैले जुट्न जरुरी देखिन्छ । विवाहपञ्चमी मिथिलाञ्चलको महापर्वहरु मध्ये एक हो । विवाहपञ्चमीको आयोजना प्रत्येक साल झै यस वर्ष पनि जोडतोडको साथ मनाउन थालिएको छ । जनकपुरधामलाई बेहुली झै सिंगार्ने तथा सजाउने काम भइरहेको छ । रामलिला,झाँकी,किर्तन लगायतका धार्मिक साँस्कृतिक कार्यक्रमहरु समेतको संचालन भइसकेको छ । मिथिला पेन्टिंग समेत मुख्य—मुख्य सडकको पेटीका पर्खालहरुमा बनाइरहेको देखिएका छन् । यी सबै कार्यहरु आवश्यक तथा यहाँको संस्कृति झल्काउने कामहरु हुन् । पक्कै पनि यसले त्रेता युगको भगवान राम र माता सिताको बैवाहिक परिवेशलाई झल्काउने छन् । जन्तीको आवश्यक सत्कार तथा स्वागतको लागि बाह्र बिघा मैदानलाई व्यवस्थित गर्न समेत आवश्यक देखिन्छ । यस क्षेत्रमा निःशुल्क पेय जल,भोजन,रात्रिकालिन बासगृह,अस्थायि सुलभ शौचालय,स्वास्थ्य सामाग्री,चिकित्सक लगायत अन्य सामाग्री तथा साधनहरुको उपलब्धता हुन जरुरी छ । जनकपुरधाम भित्र भएका लाँज तथा भोजनालयहरुमा समेत निःशुल्क वा उचित शुुल्क लिई अतिथि सत्कार गर्न जरुरी छ । स्थानियहरुले समेत हरेक साल झै यस वर्ष पनि नगरमा दीपावली मनाई त्रेता युगको दृष्यलाई चित्रण गर्न जरुरी छ । यहाँ बाहिरबाट आएका श्रद्धालु तथा अतिथिहरुलाई मार्ग दर्शन प्रदान गर्न तथा सहयोग गर्न पछाडी पर्नु हुदैन । स्थानियहरुले आफ्नो घरबाट हुन सक्ने सहज सहयोग गर्न पनि आवश्यक देखिन्छ । जस्तो की पेय जल,शरबत,निम्बु पानी लगायतका सामाग्रीहरु समेत वितरणले आतिथ्यको व्यवहार झल्किनेछ।