जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २२ मंसिर
नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को अधिवेशन अझ अन्यौलग्रस्त बनेको छ । क्षेत्र नम्बर–३ का पहिलो मतदान अधिकृतले राजिनामा दिएपछि दोश्रो नियुक्त मतदान अधिकृतले पनि पदबाट राजीनामा दिए पछि अधिवेशन अन्यौलमा परेको छ । मंगलबार महोत्तरी क्षेत्र नम्बर–३ को क्षेत्रिय निर्वाचन गर्ने जिम्मेवारी पाएका मतदान अधिकृत हेम बहादुर कार्कीले पनि राजीनामा दिएका हुन् । कार्कीले आफू शारिरीक रुपले अस्वस्थ्य भएकोले निर्वाचन गराउन असमर्थ भएको भन्दै जिल्ला निर्वाचन अधिकृतको कार्यालय महोत्तरीलाई राजीनामा पत्र बुझाएको विज्ञप्ती मार्फत जनाएको छ । यसअघि मंसिर १५ गतेको क्षेत्रिय अधिवेशन विवादित हुँदा मंसिर १८ गते तत्कालिन मतदान अधिकृत धीरेन्द्र मण्डलले राजीनामा दिएका थिए । मण्डलको लिखित बयान तथा निर्वाचन अधिकृत इन्द्र बहादुर अधिकारीको प्रतिवेदन अनुसार गलत ढंगबाट वितरण गरिएको प्रमाणपत्रहरुलाई केन्द्रीय निर्वाचन समितिले बदर गरी पुनः अधिवेशन गराउन मतदान अधिकृतको रुपमा हेम बहादुर कार्कीलाई नियुक्त गरि खटाएको थियो । यसैबीच काँग्रेसको कार्यवाहक सभापति शम्भु नारायण पाठकले पनि एक विज्ञप्ती जारी गर्दै मतदान अधिकृत हेमबहादुर कार्कीले दुई पक्षलाई बोलाई मतदान केन्द्र स्थान निर्धारण सम्बन्धमा छलफल गराउँदा विवाद उत्पन्न भएपछि कार्कीले बैठकबाट उठी उपस्थिती पुस्तीका बिना निणर्यको आफै संगै लिएर हिडे पछि क्षेत्र नंं ३ को क्षेत्रिय अधिवेशन रोकिएको जनाएको छ ।