अर्को शुक्रबारदेखि ‘चपली हाइट ३’ प्रदर्शन हुने – Jaleshwortoday

अर्को शुक्रबारदेखि ‘चपली हाइट ३’ प्रदर्शन हुने

 २४ मंसिर २०७८, शुक्रबार २३:०५  
Film

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २४ मंसिर

पुस २ गते अर्थात् आगामी शुक्रबारदेखि प्रदर्शनमा आउने चलचित्र ‘चपली हाइट ३’ सेन्सर पास भएको छ । केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शनको एक साताअघि शुक्रबार चलचित्रलाई ‘पीजी’ सर्टिफिकेट प्रदान गरेको हो । अब यो चलचित्र हेर्नका लागि १६ वर्षमुनिका दर्शकलाई अभिभावकको साथ आवश्यक पर्नेछ । अर्जुन कुमारको निर्माण एवं निकेश खड्काको निर्देशन रहेको चलचित्र क्राइम थ्रिलर जनरामा बनेको छ । चलचित्रमा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, प्रतीकमान श्रेष्ठ, अर्पण थापा लगायतका कलाकार शीर्ष भूमिकामा छन् । त्यस्तै दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतका कलाकारको समेत चलचित्रमा अभिनय छ । चलचित्रको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् । ‘चपली हाइट’का यसअगाडिका सिरिज सफल मानिन्छन् । ‘चपली हाइट ३’ले पनि दर्शकको मन जित्नेमा निर्माण टिम पूर्ण विश्वस्त देखिन्छ । चलचित्रलाई स्टेसन फाइभले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्नेछ । कोरोना महा मारीपछि केही सानो बजेटका नेपाली चलचित्र प्रदर्शनमा आएपनि दर्शक तान्न नसकिरहेको अवस्थामा धेरैको नजर ‘चपली हाइट ३’माथि छ । यसले नेपाली चलचित्रका दर्शकलाई हलसम्म फर्काउने अपेक्षा गरिएको छ । निर्माण टिमले पनि चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा प्रचारप्रसारलाई तीव्र बनाएको छ ।