
रासस
महोत्तरी, २६ आश्विन
राष्ट्रिय महत्वका चाडवाड नजिकिदै गर्दा सीमाक्षेत्रमा सशस्त्र प्रहरीले महोत्तरीमा सीमा सुरक्षा पोष्ट (बिओपी) थप गरेको छ । भारतसँगको सीमाक्षेत्रमा सुरक्षा पोष्ट थप्ने पूर्वनिणर्यअनुसार आज आइतबार जिल्लाको भारतीय सीमासँग जोडिएको मरुवाहीमा नयाँ पोष्ट स्थापना गरि सशस्त्र प्रहरीले सञ्चालनमा ल्याएको हो । सशस्त्र प्रहरी बल प्रदेश(२ बाहिनीपति कृष्णभक्त ब्रह्मचार्यले नयाँ सीमा सुरक्षा पोष्ट आज उद्घाटन गर्नुभयो । नवस्थापित सीमा सुरक्षा पोष्ट मरुवाही नेपाल भारत सीमासँगै जोडिएको एकडारा गाउँपालिकामा पर्छ । नयाँ पोष्ट सञ्चालनमा आएसँगै जिल्लामा अब सीमा सुरक्षा पोष्टको सङ्ख्या आठ पुगेको सशस्त्र प्रहरी बल नेपाल नम्वर—९ गण हेडक्वाटर महोत्तरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिनुभयो । यसअघि जिल्लाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, मनरा, भिठ्ठामोर र मटिहानीमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट रहँदै आएका छन् । नयाँ पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना जनशक्ति विन्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्वर(९ गण हेडक्वाटर महोत्तरीले जनाएको छ । भारतसँग महोत्तरी जिल्लाभरिमा ३८ दशमलव ४६ (३८.४६) किलोमीटर दुरीको सीमा छ । सशस्त्र प्रहरीले यसअघि नै प्रदेश(२ का आठवटै जिल्लामा गरि ७३ नयाँ सीमा सुरक्षा पोष्ट स्थापना गर्ने गरि काम बढाएको छ । यसअघि प्रदेशभरिमा ५० पोष्ट रहेका थिए । अब यो सङ्ख्या बढाएर १२३ पु¥याइने प्रदेश—२ सशस्त्र प्रहरी प्रमुख (सशस्त्र प्रहरी महानिरीक्षक) ब्रह्मचार्यले स्पष्ट पार्नुभयो । यसक्रममा पहिलो चरणमा १२ पोष्ट स्थापना भएर सञ्चालनको क्रममा रहेका ब्रह्मचार्यको भनाइ छ । नयाँ सीमा सुरक्षा पोष्ट उद्घाटन समारोहमा प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल र एकडारा गाउँपालिकाका अध्यक्ष रामछबिला साहको उपस्थिति थियो । दशैं, तिहार र छठजस्ता राष्ट्रिय महत्वका पर्वको मुखमा सीमाक्षेत्रमा अवाञ्छित गतिबिधि बढ्न नदिन , कोविड—१९ बिरुद्ध सचेतना सीमाक्षेत्रमा बढाउन र सीमाक्षेत्रबाट हुने अबैध ओसारपसार नियन्त्रण गर्न सिमामा सुरक्षा बढाइएको बुझिएको छ ।