जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २८ मंसिर
महोत्तरीमै सेवासुविधा सम्पन्न दुईसय शैय्या (बेडको) जानकी एकेडेमीक हस्पिटल सञ्चालनमा आएको छ ।
रामगोपालपुर नगरपालिका ९ पर्सा देवाड़मा यस क्षेत्रकै ठूलो हस्पिटल मंगलबार संचालनमा आएको हो । जनकपुर स्थित जानकी हेल्थकेयरका सञ्चालक तथा महोत्तरी क्षेत्र नं.४ बाट प्रतिनिधिसभा सदस्य डा. सुरेन्द्र यादवले स्थापना गरेको जानकी एकेडमी हस्पिटल प्रा.लि.को मंगलबार एक समारोहबीच उद्घाटन गरिएको हो । जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री समेत रहेका सञ्चालक डा. यादवको अध्यक्षतामा भएको सो हस्पिटलको उद्घाटन जसपाका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले गरेका हुन् । हस्पिटलको उदघाटन गर्दै अध्यक्ष यादवले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेका यस भेगका जनतालाई सुलभ र बिश्वसनिय सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गरे । सरकारले समेटन नसकेको ग्रामीण भेगमा स्थापना भएको यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुचको चाहना पूरा गर्नेमा आफू बिस्वश्त रहेको उनको भनाइ थियो । कार्यक्रमका बिशिस्ट अतिथि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यो अस्पतालले यस भेगका जनताको स्वास्थ्य क्षेत्रमा अतुलनीय योगदान पुर्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य उपचारलाई सस्तो र सर्वसुलभ बनाउन सुझाव दिए । २४ घण्टा सञ्चालन हुने सो हस्पिटलमा दक्ष चिकित्सकले सेवा दिने संचालक यादवले बताए । सो हस्पिटलमा सिटी स्क्यान, आइसियु, एनआइसियु, भेन्टिलेटर, प्रसुति सेवा, हेल्थ इन्सोरेन्स लगायतको सेवा सहज रुपमा प्रवाह गर्ने उनले जानकारी दिए । डा. यादवले जनकपुरमा पाइने सम्पूर्ण स्वाथ्योउपचार सेवा यस भेगका नागरिकले सहजै उपलब्ध हुने बताए ।
उद्घाटन समारोहमा जसपाका प्रदेश २ अध्यक्ष तथा संघीय सांसद राम बाबू यादव, आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह, पुर्व कृषि मन्त्री हरि नारायण यादव, प्रदेश सदस्य कौशल यादव , संजय यादव लगायतका विभिन्न पार्टिका नेताहरुको उपस्थित रहेको थियो।