जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २९ मंसिर
संघीय शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले मटिहानीको धार्मिक, पर्यटकीय महत्वलाई बढाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । वुधबार बिहान मटिहानीको अतिथि गृहमा नगरप्रमुख हरिप्रसाद मण्डलसँग कुराकानी गर्नुहुदै उहाँले सो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । नगरप्रमुख हरिप्रसाद मण्डलकाअनुसार मन्त्री झाँक्रीले सो अवसरमा यहाँको पर्यटकीय र धार्मिक क्षेत्रको विकासको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । जनकपुरको एक कार्यक्रममा भाग लिन आउनुभएका मन्त्रीसहितका टोली बिहानै मटिहानीको भ्रमणमा आउनुभएको थियो । मटिहानी भ्रमणमा रहँदा मन्त्री झाँक्रीले मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा दर्शन एवं पूजापाठसँगै ऐतिहासिक एवं पौराणिक लक्ष्मीसागर पोखरीको भ्रमण अवलोकन गर्नुभयो । सो अवसरमा नगरप्रमुख मण्डलले मटिहानी नगरपालिकाको ऐतिहासिक र धार्मिक महत्वको बारेमा जानकारी गराउनुहुदै यहाँको विकासको लागि सहयोग गर्न मन्त्री झाँक्रीसँग आग्रह गर्नुभएको थियो । मटिहानी मठमा पुग्दा मन्त्री झाँक्रीलाई मठका मानमहन्थ जग्गनाथ दास शास्त्रीले स्वागतसहित मठको भ्रमण गराउनुभयो । मन्त्री झाँक्रीलगायतलाई नगरप्रमुख मण्डलले दोसल्ला एवं मायाको चिनो प्रदान गरी सम्मान गर्नुभयो । त्यसक्रममा शहरी विकास मन्त्रालयका सचिव मनीराम गेलालसमेतको उपस्थिति थियो । त्यसैगरी शहरी विकासमन्त्री झाँक्रीले महोत्तरीको प्रसिद्ध जलेश्वरनाथ महादेवको समेत दर्शन गर्नुभयो ।