" >
प्रधानमन्त्री ओली द्वारा सोनमामा कालोपत्र सडक निर्माण परियोजनाको शिलान्यास - Jaleshwortoday

प्रधानमन्त्री ओली द्वारा सोनमामा कालोपत्र सडक निर्माण परियोजनाको शिलान्यास

 ३२ श्रावण २०८२, शनिबार ००:३०  
4

आरजे ईर्शाद शेख
महोत्तरी, ३० श्रावण

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार महोत्तरीको सोनमामा कालोपत्र सडक निर्माण परियोजनाको शिलान्यास गर्नुभएको छ। विश्व बैंकको अनुदान ऋणमा सञ्चालन हुने उक्त सडक निर्माणको कुल लागत १९ करोड ७ लाख ८३ हजार ६१८ रुपैयाँ (भ्याटसहित) हुनेछ।८.३८४ किलोमिटर लम्बाइको यो सडक महोत्तरीको हुलाकी राजमार्गअन्तर्गत रघुनाथपुर बजारदेखि सोनमा–तरहारी हुँदै सुन्दरपुरसम्म पुग्नेछ

सोनमा गाउँपालिका–३ रघुनाथपुरबाट सुरु भई वडा नं. १, २, ३ र ७ का रघुनाथपुर, सोनमा, तरहारी, मुसहरी टोल हुँदै सुन्दरपुरसम्म जोड्ने सडकको औसत चौडाइ ८.५० देखि १०.५० मिटर रहनेछ। गाडी चल्ने भाग ५.५ मिटर चौडा कालोपत्र हुनेछ भने दुवैतर्फ १.५ मिटर सोल्जर राखिनेछ। पूर्वाधार विकास कार्यालय जलेश्वरका प्रमुख राजेशलाल कर्णका अनुसार, सडकसँगै बस्ती क्षेत्रमा १७६० मिटर लम्बाइको ढल र कल्भर्ट निर्माणको योजना छ।

यो आयोजना विश्व बैंकको ३४ करोड ६९ लाख ५० हजार ६१६ रुपैयाँ बराबरको बजेट टेन्डर प्रक्रियामार्फत ढुकुछु निर्माण कम्पनी प्रालीसँग सम्झौता भएको हो।विश्व बैंकको सहयोगमा सञ्चालित “प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम” अन्तर्गत मधेश प्रदेशका २१ स्थानीय तहका केन्द्रलाई पक्की सडक सञ्जालसँग जोड्ने, १०८ किलोमिटर नयाँ कालोपत्र सडक निर्माण, १८० किलोमिटर सडक स्तरोन्नति तथा १,००० किलोमिटर सडकको नियमित मर्मत कार्य गर्ने योजना छ।

मधेश प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सरोज कुमार यादवले कार्यक्रममा भने,यो सडकले स्थानीय बासिन्दाको दैनिकी सहज बनाउनुका साथै कृषि, व्यापार र पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।प्रदेश सरकारले दीर्घकालीन दृष्टिकोणका साथ पूर्वाधार विस्तारलाई निरन्तरता दिनेछ।