आरजे इर्शाद शेख
महोत्तरी, १८ भदौं
जलेश्वर नगरपालिका–११ लाई बालविवाह मुक्त वडा घोषणा गर्ने तयारी स्वरूप वडास्तरीय वडा बालभेला अन्तिम चरणमा पुगेको वडा अध्यक्ष मनोज कुमार साहले जानकारी दिएका छन्। सोही तयारी अन्तर्गत वडास्तरीय भेला सम्पन्न गरिएको छ।
जलेश्वर नगरपालिका वडा–११ को आयोजनामा तथा रतौली युवा क्लब, सेभ द चिल्ड्रेन र समाज उत्थान कल्याण संघको सहयोगमा सम्पन्न भेलामा समुदायका प्रतिनिधि, विद्यार्थी, अभिभावक, महिला समूह, पत्रकार, प्रहरी, बाल समूह, सञ्जाल र प्रशासनका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो।
वडाध्यक्ष साहको अध्यक्षतामा सम्पन्न भेलामा जलेश्वर नगरपालिकाकी उपप्रमुख रौशन खातुन प्रमुख अतिथि थिइन्। कार्यक्रममा बालविवाहको कारण, प्रभाव तथा रोकथामका उपायबारे विस्तृत छलफल गरिएको थियो।
भेलापछि जारी विज्ञप्तिमा मुलुकी अपराध संहिता, २०७५ अनुसार २० वर्षभन्दा कम उमेरमा गरिने विवाह कानुनी अपराध हुने र यस्तो कार्यमा संलग्न व्यक्तिलाई कैद तथा जरिवानाको सजाय हुनसक्ने प्रस्टाइएको छ।
सामाजिक परम्परा, गरिबी र चेतनाको अभावका कारण मधेश प्रदेशमा बालविवाहको दर अझै पनि उच्च रहेको भन्दै सहभागिहरूले समुदायस्तरमै सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
वडाले बालविवाह अन्त्यका लागि विद्यालयस्तरीय निबन्ध, वक्तृत्वकला, चित्रकला, नाटक, गीत–संगीत प्रतियोगिता, घरदैलो कार्यक्रम तथा सामुदायिक सभामार्फत निरन्तर जनचेतनामूलक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।
वडा अध्यक्ष साहले आगामी केही दिनभित्रै वडा नं. ११ लाई आधिकारिक रूपमा बालविवाहमुक्त वडा घोषणा गरिने जनाएका छन्।
