जनकपुरधाम उपमहानगरमा पुनः जनप्रतिनिधिहरु आन्दोलित – Jaleshwortoday

जनकपुरधाम उपमहानगरमा पुनः जनप्रतिनिधिहरु आन्दोलित

 ३ पुष २०७८, शनिबार ०५:३६  
Janakpur

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २ पौष

जनकपुरधाम उपमहानगरपालिकामा पुनः जनप्रतिनिधिहरु बिच विवाद सुरु भएको छ । नगरप्रमुख लालकिशोर साहको विरुद्धमा वडाअध्यक्ष तथा सदस्यहरु आन्दोलनमा उत्रिएका छन् । पटकपटक आग्रह गर्दा पनि नगरप्रमुख लालकिशोर साहले नगरको सरसफाइका लागि कुनै चासो नदेखाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।
शुक्रबार आफूहरुलाई नगरको समस्या सम्बन्धमा वार्ता गर्नका लागि बोलाएको समयमा नगरप्रमुख साहको निर्देशनमा उल्टै घेरा हालेर कुटपिट गर्ने प्रपञ्च रचिएको उनीहरुले आरोपसमेत लगाएका छन् । वडा नम्बर ७ का वडाध्यक्ष जानकीराम साहले नगरमा थुप्रिदैं गएको फोहोरले दुर्गन्ध बढ्दै गईरहेको अवस्थामा आफूहरुले पटक–पटक मेयरसँग आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको र उल्टै आफ्नो कार्यकक्षमा बोलाएर गुण्डाशैलीमा आफूहरुमाथि जाईलागेको आरोप लगाए । आफूहरुको मागलाई सम्बोधन गर्न आग्रह गर्न आउँदा गुण्डा लगाएर हप्काएको उनले बताए । वडा नम्बर–३ का वडाध्यक्ष दिपेन्द्र कुमार साहले शुक्रबार बिहान ११ बजेको समय दिएपछि आफूहरु मेयर साहसँग भेटघाट गर्न गएको बेला बाहिरबाट लठैत मगाएर आफूहरुलाई धम्की दिएको आरोप लगाए । उनले मेयर साहले उपमहानगरपालिकाको माहौल भयभित बनाएर राखेको समेत बताए । आफूहरुले बहुमतबाट पारित गरेर दिएका योजनाहरुलाई समेत नगरप्रमुख साहले आफूअनूकुल परिवर्तन गरेको उनको आरोप छ । यसअघि पनि सरसफाई सम्बन्धी कुरा गर्न उपमहानगरको कार्यालयमा जाँदा वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंह र वडासदस्य पंकज मण्डललाई सरसफाइ कर्मचारीले दुर्व्यवहार समेत गरेको उनको भनाई छ । वडाध्यक्षहरुले आफूहरु आफ्नो कुरा राख्न खोज्दा मेयर साहले बाउन्सर लगाएर हप्कीदप्की दिइरहेको तथा उपमहानगरको हरेक कुनामा बाउन्सरहरु भरिभराउ रहेको जिकिर समेत गरेका छन् । उपमहानगरसँग सरोकार नै नरहेका बाहिरका यूवाहरुलाई मगाएर आफूहरुलाई पिटपाट गर्न खोजेको वडा नम्बर–४ का वडाध्यक्ष सुदर्शन सिंहको आरोप छ । उनले मेयर साहले आफूहरुको वडाको योजना बिगारेकोले यस बर्ष कुनै काम नै गर्न नसकेकोसमेत बताए । मेयर साहको कार्यकक्षबाट वडाध्यक्षहरु बाहिर निस्केपछि केहिबेर नगर प्रहरी र उनीहरुबिच धक्कामुक्की समेत भएका े थियो ।