जलेश्वरटुडे समाचारदाता
जनकपुरधाम, २३ भाद्र
जेनजी जनकपुरधामले भोलि जनकपुरधाम उपमहानगरभित्रका सम्पूर्ण विद्यालयहरु बन्द गरिदिन प्रेस विज्ञप्तिमा मार्फत अनुरोध गरेको छ ।
काठमाडौंको नयाँ वानेश्वरमा जेनजी युवा पुस्ताहरुद्वारा गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीको गोलि लागी २० जना युवा विद्यार्थीहरुको मृत्यु भएको छ भने देश भरका ३ सय ४७ जना भन्दा बढी विद्यार्थीहरु घाइते भएका छन् । आन्दोलनको क्रममा जेनजी कक्षा १० देखि १२ सम्मका युवा विद्यार्थीहरु विद्यालय पोशाकमै निषेधित क्षेत्रमा मात्र तोडेर अगाडी बढेनन् की उनीहरु संसद भवनमा नै प्रवेश गरेका थिए । संविधानको धारा १९ मा अभिव्यक्ति स्वतन्त्रता हक भए पनि सो खोसेको,भ्रष्टाचार,सुशासनको चरम अभाव,बेरोजगारी,घुसखोरी जस्ता विकृति विरुद्ध जेनजी युवा पुस्ताले शान्तिपूर्ण आन्दोलन गरेका थिए ।
जेनजी जनकपुरधामले अर्काे जानकारी नगरुन्जेलसम्म विद्यालय बन्द गरी शान्ति सुरक्षा कायम गर्न प्याब्सन,एनप्याब्सन,मधेस प्याब्सन,समस्त विद्यालयहरु,कालेज,पठनपाठन गर्ने संस्थानहरु,जनकपुरधाम उपमहानगरपालिका समेतलाई आग्रह गरेको छ ।
यस घटना पश्चात संघीय गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा प्रधानमन्त्री केपी ओलि समक्ष राजिनामा दिएका छन् ।
Press Release

