रासस
महोत्तरी, ३ पौष
कोभिड–१९ को नयाँ भेरियन्ट देखिएसँगै महोत्तरीमा कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाइएको छ । महोत्तरीमा १२ देखि १७ वर्ष उमेरका बालबालिका तथा किशोर किशोरीलाई ७–११ पुसमा खोल लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भोला यादवका अनुसार सामुदायिक विद्यालयमै पुगेर विद्यार्थीलाई खोप लगाउनेछ । त्यसका लागि मोर्डना खोप आइसकेको उनले जनाए । ६–११ पुसमा बर्दिबास, गौशाला, भंगाहा, रामगोपालपुर, औरही, सम्सी र सोनामा पालिकामा खोप अभियान सञ्चालन गरिनेछ । जलेश्वर, पिपरा, लोहारपट्टी, मटीहानी, मन रासिस्वा,बल्वा, र एकडारामा भने १४–१८ पुसमा सामुदायिक विद्यालयका विद्यार्थीलाई खोप लगाइने छ । खोप लगाउन छुटेका तथा दोस्रो मात्रा लगाउन बाँकीले पनि खोप लगाउन पाउने उनले जानकारी दिए । महोत्तरीको कुल जनसंख्याको झण्डै ६५ प्रतिशतले खोप लगाइसकेका छन् ।