सडक निर्माणमा ढीलाई किन ? – Jaleshwortoday

सडक निर्माणमा ढीलाई किन ?

 ४ पुष २०७८, आईतवार २३:०६  
Education

जनकपुरधाम—भिठामोड सडकको निर्माण कार्य शुरु भएको ५ वर्ष वितिसके पनि अहिले सम्म सडक तथा पुलहरु पूर्णरुपमा तयार हुन सकेका छैनन् । ३ वर्षभित्रै सम्पन्न हुने गरी निर्माण कार्य सुरु भएको सो सडकखण्ड निर्माण सम्पन्न नहुँदै भत्किन थालेको छ । केहि भागहरुमा निर्माण भएका सडकहरु उकिन थालेका छन् । अहिले पनि धेरै ठाउँहरुमा सडक ठेकेदारहरुले पुल बनाउनको लागि ठूल्ठूला खाँल्डोहरु खनाएर त्यतिकै लाबारिसे अवस्थामा निर्माण कार्य राखेको सहजै देख्न सकिन्छ । पुल बनाउनको लागि गाँडीएका फलामे छडहरु खिया लागेर विग्रि सके पनि अहिले सम्म त्यसको निर्माण कार्य शुरु भएको छैन । जसको कारण यस क्षेत्रमा सडक दुर्घटना बढेको देखिन्छ । कमसल सामग्री प्रयोग, गुणस्तरहीन काम लगायतका कारण सडक नै भत्किन थालेको स्थानीयवासीको आरोप छ । सिक्स लेन भनिएको सो सडकखण्डमा अधिकांश ठाउँ र सडक छेउमा कालोपत्रे, कल्भर्ट र पुल लगायतका काम अझै भइरहेको नै छ । हुलाकी सडक विभागको सरोकारबाला तथा सम्बन्धित ठेक्का कम्पनीहरुले सडक निर्माणको कार्य तिव्र रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको देखिन्छ । अलपत्र पुल निर्माणका कार्यहरु समेत यथोचित किसिमले समयमै समपन्न गराउनुपर्ने आवश्यकता रहेको देखिन्छ । सडक निर्माणमा प्रयोग गरिने सामाग्रीहरुको राम्रोसँग चेक जाँच भई गुणस्तरीय सामाग्रीहरुको प्र्रयोग गर्न गराउन जरुरी छ । सडक निर्माणमा भएको ढीलाइलाई न्यूनिकरण गर्न जरुरी छ ।