प्रदेश नं.२ को नामाकरण तथा राजधानी सम्बन्धमा दलहरु बीच मत नमिल्दा अहिले सम्म ठोस निर्णय हुन सकेको छैन । प्रदेश २ भित्र पर्ने ८ वटा जिल्लाहरुका प्रतिनिधि सांसदहरु प्रदेश सभामा उपस्थित भए पनि मत नमिल्नु चिन्ताजनक देखिन्छ । पटक—पटक बैठक बसे पनि कुनै पनि ठोस निर्णय लिन नसक्नु समय र भत्ताको बर्बादी मात्र भएको देखिन्छ । जबसम्म नामाकरण सम्बन्धमा ऐक्यबद्धताका साथ ८ वटै जिल्लाका परम्परा तथा संस्कार झल्काउने नाम छनौट हुदैन तबसम्म यो बिबाद कायमै रहने देखिन्छ । यसको लागि आवश्यक लबिंंग तथा गृहकार्यको आवश्यकता रहेको देखिन्छ । सबैले आफ्नै अडान राखे पछि काम बन्दैन । यसमा सामन्जस्यताको आवश्यकता रहेको देखिन्छ । त्यसैगरी यस प्रदेशको राजधानी सम्बन्धमा वीरगञ्ज वा जनकपुरराख्ने सम्बन्धमा जतिसुकै बैठक बसे पनि फलरहित रह्यो । जनकपुरधामलाई अस्थायी राजधानीको रुपमा सबैले चिरपरिचित रहेको कारण पनि जनकपुरधामलाई नै राजधानी राखे कुनै पनि समस्या वा मतभिन्नता नहुनुपर्ने देखिन्छ । किनभने जनकपुरधामलाई विभिन्न क्षेत्रबाट हेर्दा वीरगञ्जको दाँजोमा उत्कृष्ट देखिन्छ । यस सम्बन्धमा विपक्षी दलहरुले पनि पुनः विचार गर्नुपर्ने आवश्यक छ । यसको लागि सबै सरोकारबालाहरुले समेत अन्तिम प्रयास गर्न जरुरी छ ।