जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ९ पौष
विभिन्न हिंसाबाट पीडित भएका महिला तथा बालबालिकाहरुलाई राख्ने सेफ हाउस सञ्चालनको लागि महोत्तरी जिल्लाका सरोकारबाला निकायहरु अगाडी बढेका छन् । एकद्वार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी) महोत्तरीले सेफ हाउस अभावमा लैङ्गिक हिंसा पीडित महिला तथा बालबालिकाहरुलाई सेवा दिन समस्या भइरहेको जानकारी गराएपछि जिल्लाका सरोकारबाला निकायहरु सेफ हाउस सञ्चालनको लागि अगाडी बढने जनाएको छ । सरकारले लैङ्गिक हिंसा पीडित महिला तथा बालबालिकाहरुलाई बहुसंयोजनद्धारा एकीकृत रुपमा स्वास्थ्य सेवा, मनोसामाजिक विमर्श, चिकित्साजन्य प्रमाण संकलन र संरक्षण, अल्पकालीन आश्रय, कानुनी उपचार, आवश्यक सुरक्षा व्यवस्था र परिवार वा समुदायमा पुनस्र्थापना तथा जिविकोपार्जनमा सहयोग गर्ने उद्देश्यले एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसी)को गठन गरिएको हो । सरकारले आर्थिक वर्ष २०७७÷०७८ मा महोत्तरीको जलेश्वर अस्पतालमा पनि ओसिएमसी केन्द्र सञ्चालनमा ल्याएपनि त्यसपछि कोरोना महामारीको कारणले यसको सञ्चालन अगाडी बढन नसकेको ओसिएमसीका सम्पर्क व्यक्ति तथा जलेश्वर अस्पतालका स्टाफ नर्स चण्डिका अधिकारीले बताउनुभयो । शुक्रबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा लाइफ नेपाल र युनिसेफको सहयोगमा आयोजना गरिएको केन्द्रको जिल्ला स्तरीय समन्वय बैठकमा जिल्ला समन्वय समितिका प्रमुख सुरेश प्रसाद सिंह, प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, जिल्ला प्रहरी प्रमुख दिनेश आचार्य, जिल्ला अस्पताल जलेश्वरका निमित्त मेडिकल सुपरिडेन्टेन्ट डा.सतिश कुमार साह, मनरासिश्वा नगरपालिकाका नगरप्रमुख संजय कुमार सिंह लगायतकाहरुले सेफ हाउस सञ्चालनको लागि अगाडी बढनुपर्ने बताउनुभयो । उहाँहरुले यो महिनामा नै जग्गा प्राप्तिको लागि जिल्ला समन्वय समिति र प्रमुख जिल्ला अधिकारीले अग्रसरता लिनुका साथसाथै अस्थायी सेफ हाउस सञ्चालनको लागि विस्तृत खर्च विवरण तयार गर्न ओसिएमसीका सम्पर्क व्यक्तिलाई निर्देशन समेत दिनुभयो ।ओसिएमसीको लैङ्गिक हिंसा व्यवस्थापन सल्लाहकार समितिका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समितिका प्रमुख सुरेश प्रसाद सिंहले यो महिना भित्रमा नै पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुसहितको बैठक डाकेर यस सम्बन्धी विस्तृत योजना बनाउन सबैलाई अगाडी बढन निर्देशन दिनुहुदै सेफ हाउस निर्माणको लागि प्रदेश सरकारसंग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा केन्द्रका सम्पर्क व्यक्ति अधिकारीले जिल्लामा आर्थिक वर्ष ०७७÷०७८मा ७७ वटा घटना आएको बताउनुहुदै जवरजस्ती करणी उद्योग १७, बोक्सी आरोप २, घरेलु हिंसा ५ लगायतका घटनाहरु आएको बताउनुभयो । त्यसैगरी आ.ब.०७८÷०७९ मा जवरजस्ती करणी र यौन दुव्र्यवहारको ४, बोक्सी आरोप २, घरेलु हिंसा ७ लगायतका अन्य घटनाहरु गरि २७ घटना दर्ता भएपनि सेफ हाउस अभावमा पीडितहरुलाई जनकपुर पठाउनुपर्ने वाध्यता रहेको बताउनुभयो । सोही कार्यक्रममा लाइफ नेपालले ओसिएमसीमा आएका पीडितहरुको लागि आपतकालिन कोषमा २१ हजार नगदसहित केन्द्रमा आएका बालबालिकाहरुको लागि बालमैत्री सामग्रीहरु प्रदान गरेका थिए । सो सामग्री प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले जलेश्वर अस्पतालका प्रमुख निमित्त मे.सु.डा.सतिश कुमार साहलाई हस्तान्तरण गर्नुभएको थियो ।