नेपाल एक कृषि प्रधान देश भएर पनि कृषि सम्बन्धि किसानका अनगिनित समस्याहरु छन् जसको समाधान सरोकारबालाहरुबाट हुन अति आवश्यक देखिन्छ । किसानलाई सहयोग गर्न कृषि मन्त्रालय मार्फत विभिन्न कार्यालयहरु संचालन भए पनि केहि कार्यालय बाहेक धेरै कार्यालयहरुबाट किसानहरु सुविधा पाउनबाट बञ्चित देखिएका छन् । अहिले पनि विभिन्न योजना तथा सुविधाहरु गरिब किसानहरुले नपाएर समस्याको भुमरीमा फसेको देख्न सकिन्छ । तराईलाई अन्नको भण्डार माने पनि यस क्षेत्रलाई चाहिने कृषिजन्य समाग्र्रीहरुको उपलब्धतादेखि कृषि सम्बन्धि तालिमको अभाव देखिन्छ । प्रदेश २ मै कृषि मन्त्रालय तथा विभिन्न निर्देशनालयहरु भए पनि अनुगमन तथा चेक जाँचको कमि देखिन्छ । लक्षित किसानहरु अहिले पनि तालिम तथा सेवा सुविधाहरु पाउनबाट बञ्चित छन्् । पालिका स्तरबाट पनि विभिन्न कृषि जन्य बिऊ तथा सामाग्रीहरु बितरण गर्ने गरे पनि समयमा नपाएर किसानहरुले आफ्नो स्वंंयको लगानी गर्न बाध्य हुनुपरेको जनगुनासो यथाबत नै छ । कृषि जनचेतना तथा जगेर्नाको अभावको कारण किसानहरु कृषिबाट टाँढीन लागेका छन् । मिहिनेती किसानहरुले समेत आफै किसानी काम छोडेर अन्य व्यवसायमा लागेको कैयौं उदाहरणहरु देख्न सकिन्छ । त्यसकारण समग्र्र कृषि क्षेत्रको विकास तथा विस्तारको लागि सरोकारबालाहरुको ध्यान केन्द्रित हुन जरुरी छ ।