महोत्तरीमा मुसहर समुदाय कोरोना खोपबाट बञ्चित – Jaleshwortoday

महोत्तरीमा मुसहर समुदाय कोरोना खोपबाट बञ्चित

 १५ पुष २०७८, बिहीबार ००:२२  
Nepalma

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ पौष

महोत्तरीमा मुसहर समुदायका व्यक्तिहरुले अझै कोरोनाविरुद्धको खोप लगाउन पाएका छैनन् । कोरोना रोकथामका लागि सरकारले खोप अभियान तीव्र बनाए पनि पर्याप्त प्रचारप्रसारको कमीले मुसहर समुदाय खोप लगाउनबाट वञ्चित भएका हुन् । ‘खोप अभियान कहाँ चलाइएको छ भन्नेसम्मको जानकारी नहुँदा हाम्रो समुदाय खोप लगाउनबाट वञ्चित बनिरहेको छ’ सुनिल सदाले भने । अनुकूल भएसम्म बस्तीमै पुगेर खोप अभियान चलाइदिन पनि मुसहर समुदायको अपिल छ । जिल्लाकै सबैभन्दा बढी जनसंख्या भएको बर्दिबासस्थित नमुना बस्तीमा बसोबास गर्ने मुसहरहरूले अहिलेसम्म कोभिडविरुद्धको खोप लगाउन पाएका छैनन । बर्दिबासमा १५२ घरधुरी बसोबास गर्दै आएका छन् । स्वास्थ्य चौकी नजिक हुनेहरूले खोप लगाए पनि प्रायः मुसहरहरूले खोप लगाउन नसकेको बताएका छन् । पछिल्लो समय मोडर्ना खोप १२ देखि १७ वर्ष उमेर समूहलाई विद्यालयमै पुगेर लगाउन अनिवार्य गरिएको छ । तर विद्यालयमा समेत नियमित उपस्थित हुन नसक्ने मुसहर समुदायका बालबालिकाहरू मोडर्ना खोप लिनबाट वञ्चित बनेको स्वास्थ्यकर्मीहरूले जनाएका छन् । महोत्तरीमा अहिलेसम्म १५ वटै स्थानिय तहमा झन्डै ५४ प्रतिशत जनसंख्याले खोप लगाइसकेका छन् । तर मुसहर बस्तीका मुसहरहरूले खोप लगाउन पाएका छैनन् । मुसहर समुदायका लागि बस्तीमै पुगेर खोप अभियान चलाउन स्थानीयको माग छ ।