जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १९ पौष
सरकारले कोभिड १९ विरुद्धको अतिरिक्त खोप दिने निर्णय गरेको छ ।
कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाएको तीन महिना पुगेका व्यक्तिहरूलाई सरकारले बुस्टर डोजका रूपमा अतिरिक्त खोप लगाउने निर्णय गरेको हो । कमजोर रोग प्रतिरक्षा प्रणाली भएका व्यक्तिहरूलाई त्यस्तो खोप दिइने सरकारले जनाएको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबारदेखि नै अतिरिक्त खोप दिइने जानकारी दिएका छन् । केही समयअघि राष्ट्रिय खोप सल्लाहकार समितिले निश्चित समूहलाई खोपको अतिरिक्त डोज दिन सिफारिस गरेको आधारमा सरकारले यो निर्णय गरेको उनले बताएका छन् । मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआइभी भएका बिरामीले अतिरिक्त डोज पाउने छन् । उपचारको क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू सेवन गरिरहेका बिरामी, भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्ष र सोभन्दा माथि उमेरका व्यक्तिलाई पनि सरकारले अतिरिक्त खोप लगाउने निर्णय गरेको छ । लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गई थप मात्रा खोप लगाउन सक्ने छन् ।