जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २० पौष
बाक्लो हुस्सु, कुहिरोका कारण महोत्तरी सहित तराईका केही जिल्लाको जनजीवन प्रभावित हुन थालेको छ । तराईका केही ठाउँमा केही दिनदेखि घाम नै लागेको छैन । लगातारको बाक्लो हुस्सुका कारण जनजीवन कष्टकर बन्दै गएको छ । चिसो बढेपछि धेरैजसो ठाउँमा चोकचोकमा आगो बाल्न थालिएको छ । तातो न्यानो हुन आगो बालेर ताप्ने गरिएको छ । हिउँदे वर्षासँगै तराईका जिल्लामा लगातारजसो बाक्लो हुस्सु, कुहिरो लागेको छ । चिसोका कारण दैनिक ज्याला मजदुरी गर्ने श्रमिक सबैभन्दा धेरै मर्कामा परेका छन् भने बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या देखिन थालेको छ । केही विद्यालयले जाडो बिदासमेत दिन थालेका छन् । चिसोका कारण सहर बजार तथा सार्वजनिक ठाउँमा चहलपहल घटेको छ । मंगलबार पनि तराईका धेरैजसो ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको थियो । केही ठाउँमा बेलुकासम्म नै कुहिरो लाग्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार भोलि पनि बाक्लो हुस्सु, कुहिरो लाग्ने सम्भावना छ । तराई बाहेकका जिल्लामा भने बुधबार घाम लाग्ने अनुमान छ ।