बढदो तराई जनसंख्याको व्यवस्थापन जरुरी – Jaleshwortoday

बढदो तराई जनसंख्याको व्यवस्थापन जरुरी

 १३ माघ २०७८, बिहीबार २२:२६  
Education

१० वर्षमा कुल जनसंख्या २६ लाख ९७ हजार ९७६ बढ्दा वृद्धिको अधिकांश हिस्सा तराईले नै ओगटेको छ भने पहाडको वृद्धिदर कमजोर हुँदा हिमालमा जनसंख्या वृद्धिदर नै ऋणात्मक देखिन्छ । भौगोलिक क्षेत्रअनुसार जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश विगत २०६८ सालको तुलनामा २०७८मा ३.३९ प्रतिशतले वृद्धि भएको देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई ५३.६६ प्रतिशत पुगेको छ । २०६८मा १ करोड ३३ लाख १८ हजार जनसंख्या रहेको तराईमा हाल १ करोड ५६ लाख ६५ हजार पुगेको छ । १० वर्षअघि हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३ प्रतिशत अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९ प्रतिशतमा झरेको छ । हिमाली भेगमा १७ लाख ८१ हजार रहेको जनसंख्या १० वर्षपछि १७ लाख ७८ हजारमा झरेको छ । पहाडी क्षेत्रमा २०६८ मा ४३.०१ प्रतिशत रहेको कुल जनसंख्याको हिस्सा हाल २०७८ मा ४०.२५ प्रतिशतमा झरेको छ । १० वर्षअघि १ करोड १३ लाख ९४ हजार रहेको पहाडी क्षेत्रको जनसंख्या १ करोड १७ लाख ४८ हजार भएको छ । तर, कुल जनसंख्या बढेका कारण जनसंख्याको वितरणमा पहाडको हिस्सा खुम्चिएको छ । २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजाअनुसार नेपालको जनघनत्व १९८ जना पुगेको छ, जुन २०६८ सालमा १८० मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०७८ को प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको छ । २०६८ सालमा पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ३९२ प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ प्रतिवर्ग किलोमिटर रहेको थियो । पहाडी भेगको जनघनत्व भने २०६८मा १८६ जना प्रतिवर्ग किलोमिटर रहेकोमा अहिले १९२ जना प्रतिवर्गकिलोमटिरमा पुगेको छ । प्रदेशहरुमध्ये मधेश प्रदेशमा सबैभन्दा बढी ६३६ जना प्रति वर्ग किमिमा बसोवास गरेको देखिन्छ । बढदो तराईको जनसंख्याको व्यवस्थापनबारे नीति बनाउन जरुरी छ ।