
जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ माघ
कीर्तिमानी २१ औं पटक ग्रान्डस्लाम जित्ने लक्ष्यमा रहेका स्पेनिस राफेल नाडाल अस्ट्रेलियन ओपनको फाइनलमा प्रवेश गरेका छन् । शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा नाडालले माटेओ बेरेटिनीलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि नजिक पुगेका हुन् । सुरुआती दुई सेट क्रमशः ६–३ ६–२ ले सहजै जितेका नाडालले तेस्रो सेट ३६ ले गुमाएका थिए । चौथो सेटमा भने नाडालले ६–३ को सहज जित निकाल्दै फाइनलमा स्थान बनाएका हुन् ।
नाडालले क्वार्टरफाइनलमा क्यानडाका डेनिस सापोभालोभमाथि रोमाञ्चक जित हात पार्दै सेमिफाइनलमा स्थान बनाएका थिए भने बेरेटिनीले गेल मोन्फिल्सलाई पराजित गर्दै नाडालसँगको सेमिफाइनल भेट पक्का गरेका थिए । दोस्रो सेमिफाइनल विश्व नम्बर दुई ड्यानियल मेड्भेडेभ र विश्व वरीयताको चौथो स्थानका स्टेफानोस सित्सिपासबीच हुनेछ । नाडालसँगै रोजर फेडेरर र नोभाक जोकोभिचले समान २० पटक ग्रान्डस्लाम जितेका छन् ।