नसा च्यापिएको रोगको सस्तो र सुलभ उपचार – Jaleshwortoday

नसा च्यापिएको रोगको सस्तो र सुलभ उपचार

 २१ फाल्गुन २०७८, शनिबार ०३:३१  

मेरुदण्डको नसा च्यापिएर झम्झमाउने समस्या छ र यो महंगो उपचार कसरी गर्ने भनेर चिन्तित हुनुहुन्छ भने हामीसँग सन्तोषको समाचार छ । काठमाडौं विश्वविद्यालयको धुलिखेल अस्पतालले अत्याधुनिक प्रविधिबाट नसा च्यापिएको रोगको उपचार सस्तो र सुलभरुपमा गर्दै आएको छ । त्यति मात्र होइन यो अस्पतालले विशेषज्ञ चिकित्सक पढाइसमेत सुरु गरेको छ । नेपालमा मेरुदण्डको नसा च्यापिने समस्या लिएर अस्पताल पुग्नेहरु बढ्दै छन् । तर मेरुदण्डमा कुर्कुरे हड्डी सरेर वा अन्य कारणले नसा च्यापिए आधुनिक प्रविधिबाट सहज उपचार थिएन । अब भने धुलिखेल अस्पतालले विना चिरफार दुरविनको माध्यमबाट मेरुदण्डमा च्यापिएको नसा खुलाउन थालेको हो । मेरुदण्डमा मात्र होइन हात, खुट्टाको नसा च्यापिएर पनि यही प्रविधिमार्फत् उपचार गर्ने गरिएको छ । समुदायस्तरबाट सञ्चालित यो अस्पतालले महिलामा पिसाव चुहिने समस्याको समेत अत्याधुनिक प्रविधिमार्फत उपचार गरिरहेको छ । सुत्केरी भएपछि धेरैजसो महिलामा हुने पिसाव चुहिने समस्यालार्इ मिनी स्लिङ्गको माध्यमबाट सेवा दिने गरिएको हो । यति मात्र होइन, अस्पतालले पित्तथैली र प्यानक्रियाको समेत नयाँ प्रविधिमार्फत सेवा दिइरहेको छ । धुलिखेल अस्पतालमा सुरु भएको सेवाले स्वदेशमै सस्तो र सुलभ उपचार पाएकोमा बिरामी सन्तुष्ट छन् ।विगतमा नयाँ प्रविधिबाट उपचार गराउन भारत, थाइल्याण्ड, जापान, कोरियालगायतका देशमा जानुपर्ने बाध्यता थियो । तर अहिले स्वेदशमै अत्याधुनिक प्रविधिमार्फत सस्तो र सर्वसुलभरुपमा सुरु भएको स्तरीय सेवाले विदेशमा उपचारका लागि जान रोक्ने मात्र होइन, लाखौं रुपैयाँ विदेशीनबाट समेत रोकिएको छ ।