जलेश्वरटुडे समाचारदाता
धनुषा, २९ आश्विन
१४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एक जना पक्राउ छन् । पक्राउ पर्नेमा रौतहटको बृन्दाबन नगरपालिका—४ स्थित हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह रहेका छन् । साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त टोलीले गरुडा नगरपालिका ४ बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । अनुसन्धानको क्रममा साहले गत असोज १६ गते गढीमाई नगरपालिका—१ समनपुर घर भई बृन्दावन नगरपालिका—४ स्थित बाजेको घरमा बस्दै आएकी १४ वर्षीया बालिकालाई उखुबारीमा जबरजस्ती करणी पश्चात घाँटी थिचेर हत्या गरेको पाइएको प्रदेश प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले बताए । ‘साहले ललाई फकाई बालिकासँग जबरजस्ती करणी गरेको देखिएको छ,’ डीआईजी सिंहले भने, ‘बालिकाले अरुलाई भनी दिने बताएपछि हातले घाँटी थिची हत्या गरेका रहेछन् । प्रारम्भिक अनुसन्धानका क्रममा मृतक बालिका र साहकी छोरी मिल्ने साथी भएको र आफ्नो घरमा आउन जाने गरेकोमा पहिलादेखि नै साहले बालिकाप्रति नराम्रो दृष्टि राखेको पाइएको छ । पक्राउ परेका साहले अपराध स्वीकार गरेको बताउँदै डीआईजी सिंहले उनी विरुद्व रौतहट जिल्ला अदालतबाट १५ दिनको म्याद थप गराई अन्य अनुसन्धान भइरहेको बताए ।