मार्च ८ मा विश्वभरी नै अन्तर्राष्ट्रि महिला दिवस मनाइएको छ । यस वर्ष ११२ औं महिला दिवस मनाइएको छ । नेपालमा पनि महिला अधिकारको आवाज बुलन्द गर्न मार्च ८ को प्रेरणा निकै महत्त्वपूर्ण छ । तर यसलाई कसैले परम्पराको रूपमा ग्रहण गर्दै आएका छन् भने वामपन्थी विचार सम्बद्ध महिलाहरूले न्याय, समानता र स्वतन्त्रताको गौरव बोकेको ऐतिहासिक सन्दर्भको रूपमा ग्रहण गर्दै आएका छन् । सरकारी तबरबाट नै औपचारिक रूपमा सन् २०१७ देखि नेपालले नारी दिवस भनेर मनाउन सुरु गरेको हो । मार्च ८ मा महिलाहरूलाई सार्वजनिक बिदा दिने प्रचलन सुरु भएको हो । विसं २०६८ मा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा श्रमिक महिलाहरूको विद्रोह र बलिदानको इतिहास बोकेको हुनाले नारी दिवस होइन, अन्तर्राष्ट्रिय श्रमिक महलिा दिवसका रूपमा मनाउनुपर्छ भनेर सोही वर्षबाट सरकारले अन्तर्राष्ट्रिय महिला दिवसको रूपमा मनाउन थालेको हो । सरकारका अङ्गहरू, निजी क्षेत्र, सङ्घ–संस्था, राजनीतिक पार्टीसँग सम्बद्ध महिलाहरू सबै आआफ्ना बुझाइमा महिला अधिकारको कुरा गरेर ‘अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस’ मनाउने गर्दछन् । गणतन्त्र नेपालको स्थापना र नयाँ संविधान निर्माण नहुँदासम्म वामपन्थी विचार बोकेका महिलाहरू मार्च ८ लाई महिला अधिकारको स्थापनार्थ ठूलो सङ्घर्षको रूपमा मनाउने गर्दथे । नयाँ संविधनले महिला हकको धेरै कुरा सम्बोधन गरेको कारण हुनसक्छ, आजकल मार्च ८ लाई सङ्घर्षका रूपमा मनाइराखेको देखिँदैन । केवल एक परम्परा धान्नकै लागि मात्रै मनाएको जस्तो देखिन्छ । आजको सन्दर्भमा ८ मार्चलाई बुझ्ने तरिका, यसको ऐतिहासिक मर्म, उद्देश्य र औचित्य के कति पूरा भयो त्यसको मूल्याङ्कन गर्ने बेला भएको छ । यसलाई समय सन्दर्भअनुसार सोही विचारधारात्मक कोणबाट हेर्ने र बुझ्ने दृष्टिकोणमा परिवर्तन गर्न कति आवश्यक छ विचार गर्ने बेला आएको छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मूल्य, मान्यता र उद्देश्यलाई संस्थागत गर्न संसारभरका महिलाहरूलाई २१औँ शताब्दीमा समेत हुनेगरेका शोषण, दमन, अन्याय, उत्पीडन र असमानताबाट मुक्त गर्न राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा बहस जरुरी छ । पुँजी र प्रविधिको आधुनिक विश्वमा शोषणका रूपहरू पनि नयाँ ढङ्गले विकसित हुन पुगेका छन् ।