जलेश्वरटुडे समाचारदाता
धनुुषा, २ चैत्र
१५ दिने मध्यमा मिथिला परिक्रमाका तीर्थयात्रीहरू आज जनकपुरधाम आइपुग्ने भएका छन् भने यस वर्ष मधेसमा होलि शनिबार मनाइने समेत पक्का भएको छ । तीर्थयात्रीहरूको टोली भारतको विहार राज्यको करुणाबाट भगवान् राम तथा माता सीताको डोला बाजागाजा तथा झाँकीसहित आज बिशौल आइपुगेको छ । १४औँ विश्राम स्थल बिशौलमा रात्रि विश्राम गरेपछि १५औँ विश्राम स्थलको रुपमा रहेको जनकपुरधाम आइपुग्ने कार्यक्रम रहेको छ । भारतको बिशौलबाट बिहान कल्याणेश्वर स्थान, गिरिजा स्थान हुँदै जनकपुरधाम आउने र ४ गते बिहान पञ्चकोशी अन्तर गृह परिक्रमा सकेर परिक्रमाका तीर्थयात्रीहरू आ–आफ्नो घर फर्केपछि तराई मधेसका जिल्लाहरूमा चैत्र ५ गते शनिवार होली खेल्ने कार्यक्रम रहेको छ । बिशौल तथा जनकपुरधामको दूरी सबैभन्दा लामो हुने भएकाले तीर्थयात्रीहरू बढी मात्रामा थकित हुने गरेका छन् । त्रेता युगमा मिथिलाका राजा जनककी पुत्री माता सीतासँग अयोध्याका राजा दशरथका ज्येष्ठ सुपुत्र मर्यादा पुरुषोत्तम भगवान् रामसँग शुभ विवाह भएपछि परिक्रमा मार्ग भएर भ्रमण गरेको स्मरणमा मध्यमा मिथिला परिक्रमा लाखौँ तीर्थयात्रीहरू सहभागी भएर खाली खुट्टा श्रद्धासहित भ्रमण गर्ने गर्दछन् ।