जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ६ चैत्र
नेपाल सद्भावना पार्टी मधेस प्रदेशको ८ वटै जिल्ला सहित १४ वटा जिल्लामा उम्मेदबारी दिएका छन् । मधेस प्रदेशको ८ वटै जिल्लाहरुमा महोत्तरी,धनुषा,सर्लाही,रौतहट, बारा,पर्सा,सिरहा र सप्तरी,प्र्रदेश १ बाट मोरंग,सुनसरी,उदयपुर,लुम्बिनी प्रदेशबाट रुपन्देही र बागमती प्र्रदेशबाट सिन्धुली र बर्दियाबाट स्थानीय तह निर्वाचनमा भाग लिने भन्दै नेसपाले विभिन्न जिल्ला स्थित निर्वाचन कार्यालयमा दल दर्ता गराएको छ । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि जिल्लाहरूमा दल दर्ता गराउनुपर्ने समयसीमा ६ चैतसम्म दिएको थियो । सोही अनुसार नेसपाले नेपालको ३ वटै प्र्रदेशकको १४ जिल्लाहरुबाट जिल्लामा दल दर्ता प्रक्रिया कार्य भएको केन्द्रीय अध्यक्ष राम कुमार महतोले जानकारी दिए । केन्द्रीय अध्यक्ष महतोले भने, ‘स्थानीय तहको निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगले दल दर्ता खुलाएको र सोही समयसीमा भित्र दल दर्ता मधेसको १४ वटै जिल्लामा गरिसकेका छौँ ।’ राजनीतिक दलसम्बन्धी ऐन, २०७३, राजनीतिक दलसम्बन्धी नियमावली, २०७४ तथा प्रचलित संघीय कानुन बमोजिमका प्रावधान पालना गर्ने सर्तमा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४ र ५ बमोजिम दल दर्ता गरिएको उनले बताए । केन्द्रीय अध्यक्ष महतोले नेसपाले पंजा चुनाव चिन्हबाट मधेस प्रदेशको ८ वटै जिल्लासहित १४ जिल्लाहरुबाट स्थानीय तहको निर्वाचनमा भाग लिने सुनिश्चितता कायम भएको भन्दै खुसी समेत व्यक्त गरे ।