नवरात्रि ः महत्व र पूजा विधी – Jaleshwortoday

नवरात्रि ः महत्व र पूजा विधी

 १ कार्तिक २०७७, शनिबार १७:३१  
Durga

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३० आश्विन

आजबाट नवरात्रि सुरु भएको छ । नवरात्रि पर्व स्त्री प्रकृति अर्थात देवीमा समर्पित छ । । दुर्गा, लक्ष्मी र सरस्वती स्त्रैण वा स्त्री प्रकृतिका तीनवटा आयमहरुको प्रतिक हुन् । नवरात्रिका क्रममा हरेक दिन यी देवीका अलग अलग नौ रुपको पूजाआजा गरिन्छ । यी देवीहरु हुन्( शैलीपुत्री, व्रम्हाचारणी, चन्द्रघण्टा, कुशमन्दा, स्कन्दमाता, कात्यायनी, कालरात्री, महागौरी र सिद्धिदात्री । यी देवीहरुलाई नवदुर्गाको नामले पुकारिन्छ । नवदुर्गा देवीलाई पञ्चबलि दिई आफ्नो भाकल पुरा गर्ने परम्परा छ । नवरात्रिका माछामासु, मदिरा खान एवं शारीरिक सम्बन्ध बनाउन नहुने धार्मिक मान्यता छ । दुर्गा भवानीले काम, क्रोध, माया, मोह, माद, लोभ, अहंकार भन्दा परको मोक्षमय अनि दैविक ज्ञानको प्रतिनिधित्व गर्छिन् ।
नवरात्रिमा कलस स्थापनाका लागि के गर्ने ?
–माटोको कलश बनाउने ।
–सात किसिमको अन्न ।
–पवित्र माटो
–पानी ।
–पान र सुपारी
–जटा नरिवल
–अक्षता
–रातो कपडा
–फूल र शृंगारको सामाग्री
–आँपको पत्ता
घटस्थापना विध
शरदीय नवरात्रिको पहिलो दिन अर्थात प्रतिपदा तिथिमा बिहान शुभ मुहूर्तलाई ध्यानमा राखेर घरको उत्तर पूर्व दिशामा कलश स्थापनाका लागि उपयुक्त हुन्छ । यसका लागि घरको उत्तर पूर्वी स्थान राम्ररी सरसफाई गर्नुपर्छ । घटस्थापना गर्ने स्थानमा शुद्ध जलले सफा गरेर त्यसमा सफा माटो विच्छ्याउनुपर्छ । त्यसमाथि कलस स्थापना गर्नुपर्छ ।
कलशको स्थापना गरी नदी, खोला, बगर या आफूलाई पायक पर्ने ठाउँमा गई चोखो बालुवा या माटो ल्याई दसैं घर वा पूजाकोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छर्ने प्रचलन रहेको छ ।जौलाई वैदिक यज्ञका लागि अत्यावश्यक वस्तु मानिन्छ । माता भगवतीलाई मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकाले भगवतीलाई खुसी पार्नका लागि जमरा उमार्ने गरिएको छ । यसरी उमारिएको जमरा विजयादशमीका दिन देवीको प्रसादका रुपमा लगाउने गरिन्छ ।
कलशमा पानी भर्नुपर्छ र त्यसमा एउटा सिक्का राख्नुपर्छ । कलशमा पवित्र स्थानको जल मिलाउनुपर्छ । । एउटा कचौरामा जौ भर्नुपर्छ । त्यसमाथि नरिवल राखेर रातो कपडाले लपेट्नुपर्छ ।
नवरात्रिको पहिलो दिन घटस्थापना गरिन्छ, जसलाई कलश स्थापना पनि भनिन्छ । पहिलो दिन घटस्थापनाको विशेष महत्व हुन्छ । प्रतिपदा तिथिमा कलश स्थापनाका साथै नौ दिनसम्म चल्ने नवरात्रिको पर्व आरम्भ हुन्छ । पहिलो दिन विधी विधानसहित घटस्थापना गरेर भगवान गणेशको वन्दनाका साथसाथै माताको पहिलो स्वरुप शैलीपुत्रीको पूजा, आरती, भजन गरिन्छ
उत्तर वा पूर्व दिशातिर फर्किएर पूजा गर्नुपर्छ । दुर्गा देवीको आराधना अनुष्ठानमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा तथा मार्कण्डेयपुराण अन्र्तगत निहित श्री दुर्गा सप्तशतीको पाठ नौ दिनसम्म गर्नुपर्छ । यस क्रममा सम्भव भएसम्म अखण्ड दिप बाल्नुपर्छ ।
जमरा ः उमार्ने विधी, धार्मिक महत्व र स्वास्थ्य लाभ
विजयदशमी (नवरात्र)को पहिलो दिन घर–घरमा घटस्थापना गरी त्यस घटमा गोवरले रेखा बनाई जौ रोपण गरिन्छ । यसैगरी नदिबाट बालुवा ल्याएर बेदी बनाइ त्यसमा पनि जमरा रोप्ने चलन छ । त्यसैगरी कतिपयले भने धान, गहुँ, मकै जस्ता अन्न पनि जौमा मिसाएर छर्ने गरेका छन् ।
जमराको महत्व
दशैंमा मान्यजनहरुले टिका लगाईदिँदा निधार भरीमा रातो अक्षता सँगै कानमा जौं (मकै, धान र गँहू)का लामा पँहेला जमरा लगाइदिने चलन छ । निधारमा टिका र कानमा जमरा सिउरिनुलाई दशैंको मनाएको संकेतको रुपमा लिइन्छ । धार्मिक विश्वास अनुसार दुर्गा भगवतीलाई मनपर्ने भएकाले विशेषगरी जमराको रुपमा जौंको प्रयोग गरिने चलन रहेको छ ।
कसरी उमार्ने ?
जौको जमरा उमार्नका लागि शुद्ध एवं अग्र्यानिक बिजको प्रयोग गर्ने । सबैभन्दा पहिला गहुँको बिजलाई एक भाँडामा आठ देखि दश घण्टासम्म पानीमा भिजाएर राख्ने । अब कुनै गमलामा थोरै माटो राख्ने । उक्त गमलामा त्यती नै बिज राख्ने, जसलाई माटोले राम्ररी ढाक्न सकिन्छ ।
अब गमलामा पानी राखेर ओझेल भएको स्थानमा राख्नुपर्छ । एक हप्तासम्म एक–एक वटा गमलामा यसरी नै बिज रोप्नुपर्छ । सात दिनपछि पहिलो पटक रोपेको गमलामा गहुँ अंकुराउन थाल्छ । गमलामा हरेक दिन पानी हाल्नुपर्छ । यसलाई घामको सोझो सम्पर्कमा राख्नु हुँदैन । गहुँको जमरा उमार्नका लागि १८ देखि २० डिग्री तापमान उत्तम हो ।
कति उपयोगी ?
जौलाई संस्कृतमा यव भनिन्छ । खाद्य पदार्थको हिसाबले यो निकै पौष्टिक मानिन्छ । यसमा औषधिय गुण पनि हुन्छ । वैदिक ग्रन्थमा जौलाई रोग हटाउने, यज्ञयज्ञादीमा उपयोगी, बल र प्राणलाई पुष्ट पार्ने बस्तुको रुपमा लिइएको छ । पौराणिक ग्रन्थमा जौलाई अन्नको राजा मानिन्छ ।
जमरा राम्रो आहार पनि हो । खासगरी गहुँको जमरा उमारेर नियमित रुपमा त्यसको रस पिउँदा निकै लाभ मिल्छ । किनभने यसमा पोषक तत्व पाइन्छ, जसमध्ये क्लोरोफिल अधिक हुन्छ । त्यसका साथै प्रोटिन, भिटामिन, फाइबर, क्याल्सियम र कार्बोहाइड्रेट्सको राम्रो स्रोत हो, गहुँको जमरा ।
गहुँको जमराको जुस सेवन गर्दा स्वास्थ्यमा फाइदा गर्छ । खासगरी मुख तथा दाँत सम्बन्धि समस्या हटाउन, रगतमा चिनीको मात्रा नियन्त्रित गर्न, पाचन यन्त्र बलियो बनाउन, कलेजोलाई स्वस्थ्य राख्न गहुँको जमरा उपयोगी हुन्छ । त्यसका साथै कतिपय छालाको समस्या र केसको समस्यामा पनि गहुँको जमरा लाभदायक हुन्छ ।
चिकित्सकहरुका अनुसार उच्च रक्तचाप, मधुमेह एवं क्यान्सर जस्ता समस्यामा सात वा नौ दिनको जमरा पिसेर झोल बनाई नित्य सेवन गरेमा धेरै फाइदा गर्छ । जमराको जुसको सेवनले सौन्दर्यमा समेत निखार ल्याँउछ ।
जमराको जुस
गहुँको जमरा त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । साथै यसबाट रस निकालेर पिउन पनि सकिन्छ । गहुँको जमराको जुस बनाएर पिउँदा स्वादिलो हुन्छ । कसरी बनाउने त जुस ?
१. आठदेखि दश वटा गहुँको जमरा जरामै काटेर राम्ररी धुने । अब यसलाई कुटेर रस निकाल्ने ।
२. अब एक सफा कपडामा त्यसलाई राख्ने र निचोर्नुपर्छ । यसको रस कुनै गिलासमा राख्नुपर्छ ।
३. यो जुसमा थोरै तुलसीको रस चुहाइदिन सकिन्छ । साथै मह र अदुवा पनि मिश्रण गर्न सकिन्छ ।
४. यो जुसमा थोरै पानी मिसाउनुहोस् । अब जुस पिउन सकिनेछ ।
कति पिउने ?
(यदि तपाई कुनै रोगबाट ग्रसित हुनुहुन्छ भने प्रतिदिन तीसदेखि पचास एमएल जुस पिउनुहोस्, दिनमा दुई पटकसम्म ।
सुरुमा गहुँको जमराको रस थोरै पिउने र क्रमस मात्रा बढाउँदै लाने ।
(एक हप्तामा कम्तिमा पाँच दिन यसको सेवन गर्नुपर्छ ।