
जलेश्वरटुडे समाचारदाता
धनुषा, २३ चैत्र
जनकपुरधाम साहित्य, कला तथा नाट्य महोत्सव बुधबारदेखि सुरु भएको छ । मैथिली विकास कोषले जानकी मन्दिर प्राङ्गणमा आयोजना गरेको महोत्सवको पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उद्घाटन गरेका छन् । त्यस अवसरमा बोल्दै अध्यक्ष नेपालले सबै भाषा र संस्कृतिको सम्मान गरिनुपर्ने बताए ।
यस किसिमको महोत्सवले भाषा, साहित्य र संस्कृतिको संरक्षण हुने उनले बताए । एकले अर्काको भाषा र संस्कृतिको सम्मान गर्दै अघि बढेमा राम्रो समाजको निर्माण हुने उनले बताए । नेपालले मैथिली भाषा सँस्कृतिको उत्थानका लागि तीन वटै तहको सरकारले गम्भीरता देखाउनुपर्ने पनि बताए । मधेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशभित्रका भाषा संस्कृतिको संरक्षण सम्बद्र्धन गर्न आफूहरु प्रतिबद्ध रहेको बताए । राउतले मधेश भाषा साहित्य प्रज्ञा प्रतिष्ठान गठनको तयारी अन्तिम चरणमा पुगेको बताए । मधेश प्रदेशका प्रमुख भाषाहरु मैथिली, भोजपुरी, बज्जिका लगायतका भाषा संस्कृतिको संरक्षण गर्न प्रतिष्ठान गठन गरिने उनले बताए । कार्यक्रममा प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवसहितकाले बोलेका थिए । महोत्सव उद्घाटनअघि झाँकी र शोभायात्रा निकालिएको थियो । तीन दिनसम्म चल्ने महोत्सवमा मैथिली भाषा, साहित्य, कला संस्कृतिसँगै देशको अन्य समसामयिक विषयमा विज्ञहरु द्वारा विमर्श एवं नेपाल र भारतको विभिन्न नाट्य समूहद्वारा नाटक समेत प्रदर्शन गरिने आयोजक संस्थाका अध्यक्ष जीवनाथ चौधरीले जानकारी दिए ।