जनकपुरमा कोरोनाले रोक्न सकेन दशैंंको रौनकता – Jaleshwortoday

जनकपुरमा कोरोनाले रोक्न सकेन दशैंंको रौनकता

 १ कार्तिक २०७७, शनिबार २१:५३  
Janakpur

नितेश यादव
धनुषा, १ कार्तिक

जनकपुरमा विजयादशमी आजदेखि विधिवत रुपमा सुरु भएसँगै रौनकता छाउन थालेको छ । कोरोना महामारीका कारण भव्य रुपमा मेलाको आयोजना नहुने भएपनि जनकपुरका स्थानीय युवा क्लबहरुले जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलगायत विभिन्न चोकमा गेट, पण्डालसहित दूर्गाको मूर्ति स्थापना गरी यसवर्ष पनि धुमधमाका साथ दसैं मनाउने तयारी गरेका छन् । जनकपुरको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलगायत एक दर्जनभन्दा बढी स्थानमा शक्ति स्वरुपा दूर्गाको प्रतिमा निर्माण गरी श्रद्धा तथा उल्लासपूर्वक दसैं मनाइँदै छ ।

No description available.

प्रमुख शक्तिपीठ राजदेवी मन्दिरलाई बेहुली झैं सजाइएको छ भने प्रतिमा स्थापना गरी पूजा गरिने स्थानमा भव्य पण्डालको व्यवस्था गरिएको छ । राजा जनकका कूलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा सरसजावट गरी झिलिमिली बत्ती जडान गरिएको छ । यस्तै, नगरको विभिन्न चोकमा दूर्गाको प्रतिमा बनाएर पूजापाठ गरिदैं छ । दसैंमा राममन्दिरसँगै रहेको राजदेवी मन्दिर, बौधी मन्दिर, अमरखाना मन्दिर आकर्षणको केन्द्र बने पनि जनकपुरको मुरलीचोकमा वर्षौंदेखि भगवतीको प्रतिमा बनाएर पूजा गरिँदै आएको छ भने भ्रमरपुरा चोक, रामानन्दचोक रजौलमा समेत दूर्गाको प्रतिमा बनाएर पूजा गरिन्छ । प्रत्येक वर्ष दसैँमा हजारौँको संख्यामा भिड हुने राजदेवी मन्दिरमा सजावटको काम अब अन्तिम चरणमा रहेको सरसजावटको व्यवस्थापन गर्दै आएको महावीर युवा कमिटीका अध्यक्ष सन्तोषकुमार साहले जानकारी दिए । उनले कोरोना महामारीकोबीच हुन लागेको दसैंमा सरसजावट तथा पूजामा कुनै किसिमको कमि आउन नदिने बताए । कोरोना महामारीको कारण स्थानीय प्रशासनले भिडभाड नगर्न भनिसकेकोले स्वास्थ्य सुरक्षा अपनाई पूजापाठ तथा भक्तजनलाई आउन दिने अध्यक्ष साहले बताए ।

No description available.

राजदेवी मन्दिरको सजावट देखि पूजा तथा त्यसको व्यवस्थापनका लागि यस वर्ष २० देखि २५ लाख सम्म खर्च हुने अनुमान रहेको उनको भनाइ छ ।‘पहिला बलीप्रदान हुँदा त्यसबाट पैसा आउँथ्यो र हाम्रो कमिटीमा पनि अधिकांश व्यापारी रहेकोले आफैबाट खर्चको व्यवस्थापन गर्थे । तर यस पटक कोरोना महामारीको कारण व्यवसायीहरु आफै समस्यामा छन् र बलीप्रदान समेत नहुने भएकोले यस वर्ष स्थानीय र प्रदेश सरकारसँग सहयोग माग्छौँ,’ उनले भने । यस वर्ष बलीप्रदानमा स्थानीय प्रशासनले रोक लगाएकोले खर्च व्यवस्थापनमा समस्या हुने अध्यक्ष साहले जानकारी दिए । उनले भने, ‘भिड बढी भएन भने भक्तजनको लागि सबै दिन मन्दिर खुल्ला रहन्छ तर भिड बढयो भने अष्टमी देखि श्रद्धालु–भक्तजनको लागि मन्दिर बन्द गछौँ ।’

घटस्थापना देखि नै मन्दिर प्रवेश गर्दा भक्तजनको लागि सेनिटाइजर तथा मास्कको व्यवस्था गरिने छ । यता राम मन्दिरका पुजारी राम गिरीले मन्दिरमा हुने नृत्य पूजामा कुनै कमि नआउने बताए । त्यस्तै, स्थानीय रामानन्द युवा क्लबले प्रत्येक वर्ष झैँ यस वर्ष पनि मूर्ति निर्माण गरी पूजाको तयारीमा जुटेको छ । पूजालाई भव्य बनाउन क्लबले रामानन्द चोकमै पण्डाल निर्माण थालेको छ । घटस्थापना देखि सुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने छ । दसैंलाई भव्य बनाउन नियमित पूजाका साथै भजन संध्या लगायतको कार्यक्रम गरिने बताइएको छ । पूजा सम्पन्न गर्न लाखौं रुपैयाँ खर्च लाग्ने अनुमान रहेपनि टोल छिमेक, नगरवासीको सहयोगले २१ वर्षदेखि पूजा सम्पन्न हुँदै आएको छ । धार्मिक स्थलहरुमा हुने भजनकिर्तन तथा धार्मिक कार्यक्रमले जनकपुरमा यस्तो महान चाडपर्वको समयामा छुट्टै रौनक छर्ने गरेको स्थानीय बताउँछन् ।