
जलेश्वरटुडे समाचारदाता
जलेश्वर, ३० चैत्र
जलेश्वरमा खानेपानी गुणस्तर जाँच केन्द्र शुरु भएपछि शुद्धता परीक्षणको लागि जनकपुर पानी बोकेर जनकपुर पुग्नुपर्ने बाध्यताको अन्त्य भएको छ ।
युनिसेफको साझेदारी तथा नेपाल नगरपालिका संघको अगुवाइमा जलेश्वर नगरपालिका कार्यालयभित्र शुरु खानेपानी गुणस्तर जाँच केन्द्र स्थापना भएको हो । जाँच केन्द्र स्थापना भएसँगै सर्वसाधारणले प्रयोग गर्ने खानेपानीको परीक्षण गराउने भएका छन् । खानेपानी पिउने योग्य रहे÷नरहेको पत्ता लगाउनुका साथै केन्द्रले यसको उपचार पद्धतिबारे समेत जानकारी दिने नेपाल नगरपालिका संघका वास फिल्ड अफिसर अकबर अन्सारीले बताए ।
महोत्तरी जिल्लाको दशमध्ये जलेश्वर, मटिहानी र बर्दिवास नगरपालिकामा खानेपानी गुणस्तर जाँच केन्द्र स्थापना गर्ने लक्ष्य राखिएको छ । अब यस्तै जाँच केन्द्र मटिहानी र बर्दिवासमा स्थापना हुने क्रममा रहेको अन्सारीले जानकारी दिए ।
जलेश्वर नगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रबिण कुमार झाले स्वामित्व ग्रहण गर्दै खानेपानी गुणस्तर जाँच केन्द्र खानेपानी, सरसफाई तथा स्वच्छता शाखा अन्तर्गत राखिएको बताए । उनले खानेपानीको गुणस्तर जाँचको सेवा प्राप्तीका लागि सबै नगरवासीा अपिल समेत गरेका छन् ।