
जलेश्वरटुुडे समाचारदाता
धनुषा, ३ कार्तिक
जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीमन्दिरमा यसवर्ष बोकाबलीको साटो कुभिन्डो (कुम्हर) बलि दिइने भएको छ ।
प्रत्येक वर्ष हुँदै आएको बोलका बलि यसवर्ष कोरोना महामारीमा हुने भिडभाडको कारण नचढाएर कुभिन्डो बलि दिने निर्णय भएको हो । जिल्ला सुरक्षा समितिको आइतवार बसेको बैठकले राजदेवी मन्दिरमा हुने बली प्रदानलाई रोकेर कुभिण्डो बलीलाई नै क्षमापुजाको रुपमा लिने सहमति गरेको हो । मन्दिरमा बोकाबली नदिँदा अनिष्ट हुने विभिन्न कालखण्डमा जनविश्वास अनुसार राजदेवीसँग क्षमापूजा गर्ने निर्णय समेत गरिएको छ । यसवर्ष कुभिन्डो बलि दएर क्षमापूजन गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टाराईले जानकारी दिए । राजदेवी मन्दिरमा अन्य वर्षहरुझै अहिले पनि श्रद्धालुहरुको भीड लाग्ने गरेको छ । यद्यपी, प्रशासनले अत्यधिक भीड नगर्न र नगराउन स्थानीय सरोकारबालासँग पनि आग्रह गरेको छ । राजदेवी मन्दिरमा प्रत्येक वर्ष अष्टमीमा १० हजारभन्दा बढी बोकाबलि प्रदान हुने गरेको थियो ।