जनकपुरधाम उपमहानगरपालिका अन्तर्गतको शिक्षा शाखाले नीजि विद्यालय प्रति उदार हुन जरुरी देखिन्छ । विगत ५ वर्षमा यस क्षेत्रमा अन्य विकास तथा निर्माण कार्य गरिए पनि नीजि विद्यालयको विकास तथा स्तरोन्नति गर्नमा पछि परेको देखिन्छ । यस पालिकाबाट मात्र सरकारी विद्यालयहरुलाई विभिन्न किसिमले सहयोग गर्ने गरिएको बुझिएको छ । नीजि विद्यालयहरु पनि नेपाल सरकारलाई कर तिर्ने,सरकारको नीति नियमलाई मान्ने तथा नेपाल सरकारलाई बेरोजगारी समस्या समाधान गर्न अग्रणी सहयोग गर्ने प्रमुख अंगको रुपमा प्रमाणित भइसकेको परिवेशमा जनकपुरधाम उपमहानगरको शिक्षा शाखा मौन बस्नु शिक्षा क्षेत्रलाई धरासायीमा राख्नु सरह भएको देखिन्छ । नीजि विद्यालयहरुलाई यहाँ नेतृत्व गर्ने ४ वटा संगठनहरुमा प्याब्सन,एन प्याब्सन,नेपाल प्याब्सन तथा मधेस प्याब्सन रहेको छ । उपमहानगरको यी संगठनहरुसँग पनि समान व्यवहार नरहेको बिगतमा देखिएको छ । विकास तथा परिवर्तन नियमित प्रक्रिया हो । तर यसलाई कसैले रोक्नु तथा बाधक बन्नु मुर्खता हो । बिगतमा यस पािलकाको शिक्षा संकायले नयाँ नीजि विद्यालय दर्ता प्रमाणपत्र दिने तथा कक्षा थप्ने कार्यमा मौनता देखाएको नीजि विद्यालयको संगठनहरुको आरोप रहेको छ । तसर्थ अब नव नगर प्र्रमुखले शिक्षा शाखालाई काखापाखाको परिवेशबाट टाढा राखी नीजि विद्यालयहरुको पेन्डींगमा रहेको कामहरुलाई शिघ्र समाधान गराउने वातावरणको सृजना गराउन आवश्यक छ । जनकपुरधाम मधेस प्रदेशको राजधानी तथा मधेस प्रदेशमै शिक्षाको केन्द्र्र रहेको कारण नयाँ दर्तादेखि कक्षा बृद्धि,आवश्यक निर्देशन तथा सहयोगको पाइलाहरु समानताको आधारमा अघि सार्न आवश्यक रहेको देखिन्छ । सरकारी विद्यालयहरुको कामकाज गर्दा विगतमा खाजाको नाउँमा आर्थिक हिनामिना भएको आरोप समेत लागेको उपमहानगरको शिक्षा शाखालाई विश्वास तथा सुशासनको केन्द्रको रुपमा परिचय गराउन आवश्यक रहेको देखिन्छ । मेयर शिक्षा ईकाईको प्र्रमुख नै हुने भएकोले यसको नेतृत्व गर्नुपर्ने देखिन्छ ।