जलेश्वरको विकासको अवसर – Jaleshwortoday

जलेश्वरको विकासको अवसर

 ९ श्रावण २०७९, सोमबार ००:५४  
Jaleshwor Today Editorial

जलेश्वर बिगतमा जनकपुर अञ्चलाधिशको कार्यालय,हाल महोत्तरी जिल्लाको सदरमुकाम भनेर चिन्ने गरिन्छ । यो ठाउँलाई धार्मिक रुपमा चिनाउने अर्काे खास तत्वको रुपमा जलेश्वरनाथको मन्दिर र यससँग सम्बन्धित अन्य मन्दिरहरु पनि हुन् । जनकपुरदेखि जलेश्वर र भिठामोडसम्म रेलमार्गको बिस्तार सम्बन्धि अध्ययन गरिने तथा यस क्षेत्रलाई सुख्खा बन्दरगाहको रुपमा समेत अध्ययन अनुसन्धान गरी काम अगाडी बढाउने सरकारी निर्णयले अझै यस ठाउँको कायापलट हुने पक्का देखिन्छ । यस ठाउँसँग जोडिएका सबै बाटाहरु तथा राजमार्गहरुलाई मरम्मत सुधार तथा स्तरियकरण गर्ने समेत बजेटबाटै निर्णय भएको हँुदा यस ठाउँलाई अगाडी बढनबाट कसैले रोक्न नसक्ने आशाको किरण देखा परेको बुझिन्छ । तर यो जति हेर्न र सुन्नमा सजिलो लाग्छ त्यति कार्यान्वयन पक्ष सजिलो नहुने विज्ञहरुको सुझाव छ । त्यस कारण यस्तो परिवेशमा नवनिर्वाचित जलेश्वरको मेयर साहेव लगायत अन्य सरोकारबालाहरुले समेत स्थानिय रुपमा चासो लिनुपर्ने आवश्यकता रहेको देखिन्छ । यस ठाउँलाई विकसित पार्नको लागि अपार सम्भावना तथा स्रोतसाधनहरु रहेकाले यसको सदुपयोग गर्न आवश्यक छ । यो ठाउँ अहिलेसम्म तुलनात्मक रुपमा पछाडी पर्नुको मुख्य कारण तथा कारक तत्वहरु यहाँका जनता तथा जनप्रतिनिधिहरु नै हुन् । यहाँका जनताले अब पनि कम्मर कसेर व्यवसायिक लगानी गर्ने तर्फ अग्रसर हुन जरुरी छ । आफ्नो गाउँ आफै बनाऔ भन्ने झै सबै आफ्नो भ्याए सम्मको कार्य गरेर अगाडी बढन र बढाउन आवश्यक छ । खास गरी स्थानिय पालिकासँग विकासात्मक बजेटहरु धेरै नै रहेको कारण यसको प्रयोग आवश्यक ठाउँहरुमा आवश्यक कामको लागि गर्न गराउन आवश्यक छ । विशेष रुपमा यस ठाउँबाट लिने मानसिकताबाट उठेर यस ठाउँलाई के दिन सकिन्छ भन्ने कुराको चिन्तन गरेर लगानी गर्न आवश्यक छ । स्थानिय विकास गर्ने गराउने स्थानिय सरकारको जिम्मेबारी रहेकोले यसको रोडम्याप तयार पार्ने तथा कार्यान्वय गराउने काम पालिका प्रमुखको हो । यसको लागि तागेदा गर्ने काम जनताको हो । यस ठाउँलाई प्रचारप्रसारको माध्यमबाट पर्यटकीय तथा धार्मिक नगरीको रुपमा विकसित गर्न सकिन्छ । जलेश्वरनाथको मन्दिर तथा यस क्षेत्रको अन्य धार्मिक ठाउँहरुकाको बारेमा फ््लैक्स जनकपुरधाम लगायत अन्य चर्चित ठाउँहरु तथा सिमा नाकाहरुमा राख्न जरुरी छ ।