जनकपुरधामको नगरसभामा ४३ लाखभन्दा बढी खर्च – Jaleshwortoday

जनकपुरधामको नगरसभामा ४३ लाखभन्दा बढी खर्च

 १० श्रावण २०७९, मंगलवार ०५:५६  
jj

जलेश्वरटुडे समाचारदाता
धनुषा, ९ श्रावण

जनकपुरधाम उपमहानगरपालिकाले नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्च गरेको छ ।
जनकपुरधाम उपमहानगरपालिका आर्थिक वर्ष २०७७÷७८ मा गरेको नगरसभामा ४३ लाखभन्दा बढी रकम खर्चेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आव २०७७÷७८ को प्रतिवेदन अनुसार उपमहानगरपालिकाले नगरसभा सञ्चालनमा दुई दिनमा ४३ लाख ८ हजार १२८ रुपैयाँ खर्चेको छ। उपमहानगरपालिकाले सञ्चालन गरेको नगरसभामा कतिजना उपस्थित थिए त्यो खुल्न सकेको छैन। तर उपमहानगरपालिकाले खाना, खाजामा ठूलो रकम खर्च गरेको देखिएको छ। महालेखा परीक्षकको कार्यालयले नगरसभामा उपस्थितिको संख्या नखुलेकाले पालिकाका कर्मचारी, पदाधिकारी र अन्य आमन्त्रित व्यक्ति गरी ५५० जनालाई आधार मानेपछि उपमहानगरले प्रतिव्यक्ति ७ हजार ८३३ रुपैयाँ खर्च गरेको जनाएको छ। ‘नगरसभामा उपस्थित प्रतिव्यक्ति खर्च ७ हजार ८३३ देखिएकाले यसलाई स्वाभाविक मान्ने स्थिति छैन’, महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ। उपमहानगरपालिकाले नगरसभामा ८०३ केजी मासुमा मात्र ७ लाख १० हजार खर्चेको छ। नगरसभामा उपमहानगरपालिकाले खसीको मासु ६५३ केजी १ हजारका दरले ६ लाख ५३ हजार र कुखुराको मासु १५० केजी ३८० को दरले ५७ हजार तिरेको छ। तर सो समयमा भने मासुको बजार भाउ उपमहानगरपालिकाले खर्चेको भन्दा कम थियो। यस्तै, उपमहानगरले दुई दिनको खाना बनाएवापत ज्यालामा १ लाख २५ हजार, नगरसभाको प्रत्यक्ष प्रसारणवापत स्थानीय जानकी टेलिभिजनलाई ९५ हजार, स्टेज सजावट तथा खाना बनाउने आवश्यक भाँडामा ३ लाख ३७ हजार ८७०, केसरिया गम्छा ३६० को १ लाख ४२ हजार ४४०, व्याग र छाता १४०र१४० थानको ५ लाख ७४ हजार ७४१, पाइलट पेन ५८० थानको ७७ हजार ९२१ रुपैयाँ खर्चेको छ। यसैगरी, चिनी, चियापत्ती, चामल, दाल तथा मसला आदिमा ४ लाख ९६ हजार ४५७, १५५ थान डायरीमा ९८ हजार ४८४, पेश्की रकम ८ लाख ६० हजार, खाजा, कोल्ड ड्रिंक्सलगायत मसला र तरकारी आदिमा ७ लाख ९० हजार २१५ रुपैयाँ खर्चेको प्रतिवेदनमा उल्लेख गरिएको छ।