राकेश प्रसाद चौधरी
महोत्तरी, १९ श्रावण
साउन महिनामा जलेश्वर महादेव मन्दिर र परिसर रंगीचंगी बनाइएको छ । रंगबिरंगी बिजुली बत्ती र कृत्रिम फूलले सजाइएको सेल्फी पर्दाले श्रद्धालु लोभिने गरेका छन् । पुजापाठ गर्ने जत्तिकै भीड सेल्फी लिने ठाउँमा देखिने गरिन्छ । ‘जलेश्वर महादेव लेखिएको मन्दिर खुला संग्रहालय जस्तो लाग्छ’ भारतबाट आएका श्रद्धालु सुमन कुमार भन्छन्,‘अरु मन्दिरको नाम पनि लेखिएको छैन् । बाहिरको मानिसलाई जानकारी दिन सकिने कुनै बोर्ड देखिएन् । मन्दिरको बारेमा जानकारी दिने सूचना केन्द्र पनि छैन ।’ मन्दिरमा चप्पल, जुत्ता राख्ने ठाउँ र प्रसाद वितरणको ब्यबस्था हुनुपर्ने सुझाव दिँदै सुमन थप्छन् ,‘जलेश्वर महादेवको बारेमा धेरै सुनेपछि पटनाबाट आए । तर यहाँ धर्मशाला पनि रहेनछ ।’ सुमनजस्तै भारतबाट आउने अधिकांश दर्शनार्थीको पहिलो प्रश्न ‘यहाँ धर्मशाला कहाँ है’ नै रह्नेगर्छ ।मिथिलाको प्राचिन जलेश्वर महादेव र उमा महोदरी शक्तिपीठ(सतीमाई)बारे नेपालमा मात्र नभई भारतमा समेत ब्यापक प्रचारप्रसार रहेको जानकारी दिँदै पुजारी उपेन्द्र पाठक भन्छन्,‘बाहिरबाट आउने साधुसन्तले सोध्ने भण्डाराबारेको प्रश्नमा मौन बस्छु । यहाँ त पुजारीले बिश्राम गर्ने र बिशिष्ठ अतिथिलाई स्वागत गर्ने कक्ष पनि छैन ।’ जलेश्वर महादेव मन्दिरभित्र जलेश्वर शिवलिंग रहेको मूल मन्दिर तथा पंचदेव(गणेश,सुर्य नारायण,भैरव), पार्वती, कालभैरव, हनुमान, सतीमाई, त्रिशुलीमाई र ठाकुरजीको मन्दिर छ । त्यस्तै जलेश्वर महादेव मन्दिरका खोजकर्ता जगदीशनाथको समाधीस्थल छ । यहाँको हरेक मन्दिरको आफ्नै बिशेषता र इतिहास रहेपनि यसबारे कुनै पनि जानकारी कहीँ राखिएको छैन् । स्थानीय व्यवसायी एवं पूर्व पत्रकार विश्वनाथ साह भन्छन् ,‘मन्दिर बारे लेखिएको पुस्तक खोज्न श्रद्धालुहरू आउने गर्छन् तर उपलब्ध गराउन सकिएको छैन । अरू मन्दिरहरु छ भनेर सोध्नेलाई संसारीमाई, राजदेवीतर्फको बाटो देखाउने गरेको छु ।’ जलेश्वर महादेव मन्दिरबाट नजिकमा रहेको रतवारा, मटिहानीसहितका धार्मिक स्थलहरूबारे समेत कुनै जानकारी यहाँ राखिएको देख्न सकिन्न । पुजारी पाठक भन्छन,‘दुई तीनसय बर्ष पूरानो रहेको कुरुवा(अन्दाजी १० केजी तौल), तामपत्र, घण्टा, ढोल, पंचजन्य शंखसहितका सामानहरू राखेर संग्रहालय बनाइयो भने दिनहुँ दुई चार सय जना हेर्न आउँछ ।’जलेश्वर महादेव मन्दिरको नाममा तीनवटा तामपत्र जारी भएको १८६९ सालको तामपत्रबाट बुझिन्छ । नेपालका तत्कालिन महाराजबाट १८३१ सालमा पहिलो र १८६७ सालमा दोस्रो तामपत्र प्रदान गरिएको विषय तेस्रो तामपत्रमा उल्लेख छ ।
जानकारहरूका अनुसार मकवानपुरको सेन र सिमरौनगढको नान्यकालभन्दा पनि पूरानो मूर्ती पंचदेव मन्दिरमा छ । जलेश्वरमा देशभित्रै तथा भारतलगायत तेस्रो मुलुकबाट आउने पर्यटकको तथ्यांक जलेश्वर नगरपालिका कार्यालयबाट उपलब्ध हुन सकेको छैन् ।
जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनार भन्छन्,‘जलेश्वरलाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने रणनीति अनुसार जलेश्वर महादेव मन्दिरमा काम भइरहेको छ ।’