
जनकपुरधाम उपमहानगर अहिले सडक पटीका पसलहरु खालि गराउन सफल भए सँगै उपमहानगरपालिका अन्तर्गतको शिक्षा शाखाले नीजि विद्यालय प्रति उदार हुन जरुरी देखिन्छ । विगत ५ वर्षमा यस क्षेत्रमा अन्य विकास तथा निर्माण कार्य गरिए पनि नीजि विद्यालयको विकास तथा स्तरोन्नति गर्नमा पछि परेको देखिन्छ । नीजि विद्यालयहरु पनि नेपाल सरकारलाई कर तिर्ने,सरकारको नीति नियमलाई मान्ने तथा नेपाल सरकारलाई बेरोजगारी समस्या समाधान गर्न अग्रणी सहयोग गर्ने प्रमुख अंगको रुपमा प्रमाणित भइसकेको परिवेशमा जनकपुरधाम उपमहानगरको शिक्षा शाखा मौन बस्नु शिक्षा क्षेत्रलाई बिगतमा धरासायीमा राख्नु सरह भएको देखिन्छ । विशेष रुपमा नवनिर्वाचित नगर प्रमुखले नीजि विद्यालयहरुलाई यहाँ नेतृत्व गर्ने ४ वटा संगठनहरुमा प्याब्सन,एन प्याब्सन,नेपाल प्याब्सन तथा मधेस प्याब्सन रहेको कुरा बुझ््न जरुरी छ । उपमहानगरको यी संगठनहरुसँग पनि समान व्यवहार नरहेको बिगतमा देखिएको छ । विकास तथा परिवर्तन नियमित प्रक्रिया हो । तर यसलाई कसैले रोक्नु तथा बाधक बन्नु मुर्खता हो । बिगतमा यस पालिकाको शिक्षा संकायले नयाँ नीजि विद्यालय दर्ता प्रमाणपत्र दिने तथा कक्षा थप्ने कार्यमा मौनता देखाएको नीजि विद्यालयको संगठनहरुको आरोप रहेको छ । तसर्थ अब नव नगर प्रमुखले शिक्षा शाखालाई काखापाखाको परिवेशबाट टाढा राखी नीजि विद्यालयहरुको पेन्डींगमा रहेको कामहरुलाई शिघ्र समाधान गराउने वातावरणको सृजना गराउन आवश्यक छ । जनकपुरधाम मधेस प्रदेशको राजधानी तथा मधेस प्रदेशमै शिक्षाको केन्द्र रहेको कारण नयाँ दर्तादेखि कक्षा बृद्धि,आवश्यक तालिम,निर्देशन तथा सहयोगको पाइलाहरु समानताको आधारमा अघि सार्न आवश्यक रहेको देखिन्छ । मेयर नगर शिक्षा ईकाई समितिको प्र्रमुख नै हुने भएकोले यसको नेतृत्व गर्नुपर्ने देखिन्छ । निजी विद्यालयहरुको सहयोग बिना समग्र शैक्षिक क्षेत्रको विकास असम्भव रहेकोले निजी विद्यालयहरुलाई समेत सरकारी विद्यालय झै समान व्यवहार तथा सहयोग गर्न जरुरी रहेको देखिन्छ । प्रदेश सरकारले समेत मधेस प्रदेशका उद्योगीहरुलाई मात्र सम्मान गरेर समग्र प्रदेशको आर्थिक अवस्था सुदृद्ध हुने होइन । यसको लागि यस प्रदेशका बेरोजगारी देखि अन्य क्षेत्रमा सहयोग गर्ने निजी विद्यालयहरुलाई समेत सम्मान र पुरस्कृत गर्न जरुरी छ ।