जलेश्वरटुुडे समाचारदाता
धनुषा, ५ कार्तिक
जनकपुरधामस्थित राजा जनककी कुलदेवीसमेत रहेकी माता राजदेवीको दर्शनका निम्ति दसैँको दश दिन पुरुष श्रद्धालुहरु मात्र प्रवेश गरी दर्शन गर्न पाउँछन् महिलाहरुलाई भने दश दिनसम्म झ्यालबाटै पूजा आराधना गर्ने व्यवस्था मिलाइन्छ । अन्य दिनहरुमा पूजा गर्न पुग्ने महिला वा पुरुष श्रद्धालु जो कोहीलाई राजदेवीको मन्दिर भित्र प्रवेश गर्न दिइए पनि दसैँको घटस्थापनादेखि विजया दशमीसम्म महिला श्रद्धालुलाई झ्यालबाटै पूजा गर्न लगाइन्छ । आफूहरुले परम्परादेखि चल्दै आएको यो विधिलाई तोड्न नसक्ने राम मन्दिर एवं राजदेवी मन्दिरका महन्थ रामगिरी बताउँछन् । ‘वर्षौँदेखि चल्दै आएको परम्परालाई हामीले तोड्न मिल्दैन,’ उनले भने । महिलाहरुलाई मन्दिरभित्र प्रवेश निषेध गरिनुले विभेदको ठुलो नमुना प्रस्तुत गरिरहेको महिला अधिकारकर्मीहरुको भनाइ छ । नेपालको कानुनमै महिला र पुरुषबीच कुनै प्रकारको भेदभाव गरिने छैन भनेर उल्लेख गरिए पनि जातीयता र लिंंगको आधारमा गरिएको विभेदले आफूलाई क्षुब्ध बनाएको अधिवक्ता रेखा झा बताउँछिन् । राजदेवी मन्दिरमा प्रत्येक वर्ष दसैँभर महिलालाई निषेध गरिन्छ। यसको विरुद्ध अधिवक्ता झा लगायतका महिला अधिकारकर्मीहरुले पटक–पटक आवाज उठाउँदै आइरहेका छन् । दसैँको बेला राजदेवी मन्दिरमा महिलालाई किन निषेध गरिन्छ भन्ने खालका खुल्ला बहसकै आवश्यकता रहेको अधिवक्ता झा बताउँछिन् । उनले भनिन्, ‘हामी यसको लागि बहस आह्वान गरेका थियौँ, त्यहाँ राम मन्दिरका महन्थ राम गिरी, जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, दसैँको बेला राजदेवी मन्दिरलाई प्रत्येक वर्ष सजाउने जिम्मा लिँदै आएको महाबीर युवा कमिटीका तत्कालीन अध्यक्ष धमेन्द्र साह लगायतकालाई आमन्त्रित गरेका थियौँ तर त्यस बहसमा भने कसैले उपस्थिति जनाएनन् । यसले नै हामी लैंगिक समानताका लागि कतिको प्रतिवद्ध छौँ भन्ने स्पष्ट गरेको छ ।’ राजदेवी मन्दिरका महन्थ गिरीले यदि यहाँका जनताले चाहे भने यो परम्परालाई तोड्न आफूहरुलाई कुनै आपत्ति नरहेको बताए । समाजमा रहेका यस्ता लैंगिक समानताविरुद्धको कुप्रथालाई हटाउनु पर्ने महिला अधिकारकर्मीहरु बताउँछिन् । जनकपुरधामको राजदेवी मन्दिरमा प्रत्येक वर्ष अत्याधिक भीड लाग्ने गर्छ । यहाँ अष्टमीको राति हजारौँको संख्यामा बली प्रदान हुने गरेको छ तर यस पटक भने स्थानीय प्रशासनले बली प्रदानमा रोक लगाएको छ ।