कुशे औंसीको सामाजिक महत्व – Jaleshwortoday

कुशे औंसीको सामाजिक महत्व

 १२ भाद्र २०७९, आईतवार ०१:१२  
Jaleshwor Today Editorial

कुशे औंसी वा बुवाको मुख हेर्ने दिन नेपाली समाजमा महत्वपूर्ण मानिन्छ । पुरुष प्र्रधान देशमा अचेल आधुनिक समाजमा महिलाहरुले समेत कुशे औंसीमा सहभागि भइरहेका देखिन्छन् ।
कुशे औंसीको दिनलाई पितृसम्मान दिवसको रुपमा पनि मनाइन्छ । हिन्दू धर्ममा बुबा, आमा र गुरुलाई भगवान् सरी पुजिन्छ । बुबालाई गुरु, रक्षक र पथप्रदर्शक मानिन्छ । संस्कृतको पा’ रक्षणे धातुबाट बनेको पिता शब्दको अर्थ नै संरक्षक हो । पिताबाट नै अबोध शिशुहरूलाई पालनपोषण र मार्गदर्शन गर्ने कार्य भएको हुन्छ । आफ्ना जीवनदाता, शिक्षादाता र पालनकर्ता पिताको सम्मान र आज्ञापालन गर्नु सन्तानको सर्वोपरि कर्तव्य हो । तोतेबोली बोल्दै बामे सर्दाको अवस्थामा बुबाको हातको सहाराले हिँडुन सिकेका हुन्छौ । हामीलाई आफै हिँड्न सिकाउने हाम्रा प्रिय अभिभावक नै हाम्रा पहिला गुरु हुन् । पिताको सम्मान र सेवा गर्नाले जति कल्याण त कुनै पनि दान यज्ञबाट सम्भव छैन । बुबाको मुख हर्ने दिनलाई कुशे औँसी वा पितृतर्पनी औँसी वा गोकर्ण औँसी पनि भनिन्छ । यस दिन आफ्ना बुबालाई मीठो मीठो खान उपहार तथा सम्मान गरेर मनाइन्छ । धर्म गर्नलाई मन्दिर धाउने होइन, आफ्ना मातापिताको सेवा र सम्मान गर्नु पर्दछ । त्यसैले श्री स्वस्थानीमा गणेश भगवान्ले महादेव र पार्वतीलाई परिक्रमा गरेर जुनसुकै पूजाआजा गर्दा पनि पहिला गणेशको पूजा गर्नुपर्ने वरदान प्रात्त गरेका थिए । त्यस्तै, लोक व्यवहारमा पनि जब जब जीवनमा कुनै संकट छाउँछ, तब तब हामी आफ्ना जन्मदातालाई सम्झने गर्दछौ । वैशाख कृष्ण अमावस्याको दिन आमालाई र भाद्र कृष्ण अमावस्याको दिन बुबालाई समर्पित गर्दछौं । भाद्र कृष्ण औँसी विभिन्न कारणले महत्त्वपूर्ण मानिन्छ । यसै दिनमा कुश काटिन्छ र यस दिन काटेको कुश वर्ष भरि प्रयोग गरिन्छ । अतः यस दिनलाई कुशे औँसी भनिन्छ । यसै दिन आफ्ना मृत पिताको सम्मान र शान्तिका लागि काठमाडौँस्थित गोकर्णेश्वर महादेव मन्दिरमा गई महादेवको पूजा गरेर मृत पितृलाई पिण्डदान गरिने हुँदा यो दिनलाई गोकर्णे औँसी भनी मानिन्छ । यसै दिन आफ्ना जीवित पितालाई सन्तानले विभिन्न मिष्ठान्न भोजन र वस्त्र उपहार दिई सम्मान गरी आशिष पाउने हुँदा यो दिनलाई पितृदिवस पनि भनिन्छ । यसै दिन जुन पितृ पूर्वजहरूको मृत्यु तिथि मिति थाहा हुँदैन, त्यस्ता पितृहरूको श्राद्ध पनि गोकर्णमा गई गरिन्छ । गोकर्ण भगवान् शिवको नाम हो । यस दिन यहाँ शिवको पूजा आजा गरी पितृहरुप्रति श्रद्धा प्रकट गरिन्छ जसबाट एकातिर शिव आराधनाबाट आत्मकल्याण हुन्छ । मनमा शान्ति छाउँछ र सकारात्मक सोचको विकास हुन्छ भने अर्काेतर्फ आफ्ना पूवर्ज पितृहरूलाई तर्पणबाट तृप्त गरिन्छ । यस दिन गोकर्णमा ठुलो मेला लाग्दछ । जसरी भारतमा गया पिण्डदानका लागि प्रसिद्ध छ । तसर्थ कुशे औंशीले मरेको आमाबुबासँग जोड्दछ भने जिवित बुुबालाई माया,स्नेह र आदरसहितको जिम्मेबारी बहन गर्न प्रेरित गर्दछ ।