
भाद्र २९ गते अर्थात राष्ट्रिय बाल दिवस बालबालिकाहरुको लागि ज्यादै नै महत्वको दिन हो । यो बाल दिवस देश अनुसार फरक— फरक समयमा मनाइए पनि यसको शुरुवात विश्वमा पहिलो पटक सन् १८५७ मा भएको हो । तर नेपालमा सर्वप्रथम सन् १९९० बाट यो दिवस मनाउन थालिएको हो । यो दिवसको अवसरमा विद्यालयहरुमा बालबालिकालाई लक्षित गरी विभिन्न किसिमका कार्यक्रमहरुको आयोजना गर्ने परम्परा रहिआएको छ ।
राष्ट्रिय बाल दिवसले नेपाल भरीका बालबालिकाहरुको अधिकारको संरक्षण तथा प्रबद्र्धनको समेत स्मरण गराउँदछ । नेपाल लगायत विश्व भरीमा बाल अधिकारको शोषण,भ्रुण हत्या,बाल श्रम,बालिका बलत्कार जस्ता घट्नाहरुबाट के बुझिन्छ भने बालबालिकाहरु अहिले सम्म सुरक्षित छैनन् । यसको लागि मधेस प्रदेशको सम्बन्धीत मन्त्रालय तथा संघीय मन्त्रालय समेतले सहकार्य गरी बालबालिकासँग सम्बन्धीत अपराधको न्यूनीकरण गर्नमा जुट्न तथा आवश्यक नीति तथा रणनीति बनाई कार्यान्वयन गर्न गराउन आवश्यक रहेको देखिन्छ । साथै विद्यालयहरुमा समेत बालबालिकालाई मनोबैज्ञानिक तरिकाले अध्ययन अध्यापन गराउनु पर्ने आवश्यकता रहेको देखिन्छ । बालबालिकालाई खेलकुदको माध्यमबाट सिर्जनशील बनाई अध्यापन गर्न आवश्यक देखिन्छ । राष्ट्रिय बाल दिवसको अवसरमा सम्पूर्ण बालबालिकालाई शुभकामना दिनुको साथै उत्तरोत्तर प्रगतिको मंगलमय कामना समेत गर्दछौं ।