२५ औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा विकासलाई थप दुई स्वर्ण – Jaleshwortoday

२५ औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा विकासलाई थप दुई स्वर्ण

 ७ आश्विन २०७९, शुक्रबार २१:०६  
gg

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ७ आश्विन

नेपाल पौडी संघद्वारा आयोजना गरिएको २५ औं खुला राष्ट्रिय पौडी प्रतियोगितामा प्रदेश १ का विकास कुमालले थप दुई स्वर्ण प्राप्त गरेका छन् । आज दोस्रो दिन पनि उनले थप दुई स्वर्ण जितेका हुन् । कुमालले बिहीवार पहिलो दिनको खेलमा दुई स्वर्ण जितेका थिए । गण्डकी प्रदेशको पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदलाई मध्यनजर राखि आयोजना गरिएको प्रतियोगिताको दोस्रो दिन कुमालले २०० मिटर व्यक्तिगत मिड्लेमा २ मिनट २२.३७ सेकेण्ड र २०० मिटर ब्रेष्टस्ट्रोकमा २ मिनट ३३.५३ सेकेण्ड समयका साथ दुई स्वर्ण जितेका थिए । मिड्लेमा वागमतीका सेरेन सिंहले रजत र अल्भिन महर्जनले कास्य पाए ।  यस्तै ब्रेष्टस्ट्रोकमा प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र पुलिसका गौरव लामाले कास्य पाए । ५० मिटर ब्याकस्ट्रोकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङ्गले २९.१० सेकेण्ड समयका साथ स्वर्ण जिते । सेनाका अनुभव सुब्बाले रजत र पुलिसका गौरव लामाले कास्य पाए । १०० मिटर फ्रिस्टायलमा पुलिसका सुविज्ञ मान तुलाधरले ५६.२० सेकेण्ड समयमा साथ स्वार्ण हात पार्दा वागमतीका ईरभिन श्रेष्ठ र सेरेन सिंहले क्रमश रजत र कास्य पाए । १०० मिटर ब्याकमा एपिएफका तेन्जिन नामदोल रायन गुरुङले आफ्नो तथा क्लवका लागि दोस्रो स्वर्ण जिते । उनले १ मिनट ४.४५ सेकेण्ड समयका साथ दूरी पूरा गरेका थिए । प्रदेश १ का प्रारम्भ भण्डारीले रजत र एपिएफका जेडेन श्रेष्ठले कास्य पाए । ५० मिटर फ्रिस्टायलमा सेनाका अनुभव सुब्बाले २५.७६ सेकेन्ड समयका साथ स्वर्ण हात पार्दा वागमतीका अल्भिन महर्जन र ईरभिन श्रेष्ठले क्रमशः रजत र कास्य पाए ।महिला ५० मिटर ब्याकमा पुलिसकी आर्या महर्जनले ३५.१९ सेकेण्डका साथ स्वर्ण हात पार्दा प्रदेश १ की सिया सुभांगी बजगाईले रजत र पुलिसकै समिरा शोभा थापाले कास्य पाइन् ।  २०० मिटर ब्रेष्टमा सेनाकी उपास्ती महर्जनले ३ मिनट ७.७८ सेकेण्डका साथ स्वर्ण हासिल गरिन् । दोस्रो स्थानमा एपिएफकी भैनभी श्रेष्ठ र तेस्रो स्थानमा पुलिसकी सारसी खड्काले कास्य पाइन् । १०० मिटर फ्रिमा सेनाकी अनुशिया तण्डुकारले १ मिनट १.८५ सेकेण्ड समयका साथ स्वर्ण जित्दा वामतीकी रोशा न्यौपानेले रजत र पुलिसकी समिरा शोभा थापाले कास्य पाइन् ।  १०० मिटर ब्याकमा पुलिसकी आर्या महर्जन, समिरा शोभा थापा र सारसी खड्काले स्वर्ण र रजत पाइन् । आर्याले उक्त दूरी १ मिनट १७.५९ सेकेण्डका साथ स्वर्ण जितेकी हुन् । ५० मिटर फ्रिस्टायलमा सेनाकी अनुशिया तण्डुरले २८.८८ सेकेण्डका साथ स्वर्ण जित्दा वागमतीका रोशा न्यौपाने र टिशा महर्जनले रजत र कास्य पाइन् । २०० मिटर फ्रिस्टायल रिलेमा नेपाल पुलिस क्लवले १ मिनट ४३.५७ सेकेण्ड समयका साथ स्वर्ण जिते ।