
जलेश्वरटुडे समाचारदाता
धनुुुषा, ८ आश्विन
नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष रामकुमार महतोले नागरिकताका सबालमा सबै खस शासक एकजुट रहेको टिप्पणी गरेका छन् । गठबन्धनको सेटिङ्गमै राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणिकरण नगरेको उनले टिप्पणी गरेका हुन् । अध्यक्ष महतोले भने, ‘राष्ट्रपतिको कदमप्रति हाम्रो गम्भिर आपत्ति छ । यो नितान्त असंंबैधानिक हो । संसदबाट पारित विधेयक प्रमाणिकरण नगरेर राष्ट्रपतिले ठुलो गल्ति गरेको छ ।’
दुईदुई पटक दुवै सदनबाट बहुमतले पारित भएको विधेयक प्रमाणिकरण नगरेको कारण राष्ट्रपतिले पनि संविधान अस्वीकार गरेको पुष्टि भएको उनले दावी गरे । ‘संविधानमै भएको व्यवस्था ओझेलमा छ । कार्यान्वयनमा यतिको लफडा छ । त्यसकारण पनि हामीले यो संविधान खारेजीको माग गरेका हौं । अब राष्ट्रपतिले नै यो संविधान मानेको छैन भन्ने हामीले स्पष्ट बुझेका छौं,’ अध्यक्ष महतोले भने ‘नेपाली नागरिककै सन्तानलाई नागरिकता दिन यतिको रोईलो किन ?’
नागरिकता विधेयकको विषयमा नेकपा एमालेले भ्रम फैलाइएको उनले बताए । विधेयकमा हुँदै नभएको विषयलाई गलत हल्ला फिजाएर एमालेले खोक्रो राष्ट्रवाद देखाउन खोजेको अध्यक्ष महतोले आरोप लगाए ।
संसद कार्यकालको अन्तिम समयमा ल्याइएको नागरिकता विधेयकको विषयमा गठबन्धनको बदनियत देखिएको उनको टिप्पणी छ । ‘यतिको दिनसम्म नागरिकता जस्तो विषयमा मौन रहेर अन्तिम समयमा जुन विधेयक ल्याइयो, त्यसमा गठबन्धनको नियत ठिक देखिदैन । चुनावी एजेण्डा बनाउन खोजेको मात्रै देखिन्छ,’ अध्यक्ष महतोले भने ‘संसदको समय भएको भए राष्ट्रपतिमाथि महाअभियोगको विषयहरु पनि थियो । तर त्यो अवस्था अहिले छैन । संसदको अन्तिम समयमा ल्याइएको विधेयक प्रमाणीकरण नहोस् भन्ने नै उनीहरुको चाहना थियो ।’
मधेशीलाई अनागरिक बनाउन राज्यबाटै पटकपटक षड्यन्त्र हुने गरेको उनको आरोप छ । जन्मसिद्ध नागरिकका सन्तालाई नागरिकता प्राप्तिका लागि आफूहरु शसक्त आन्दोलनको तयारी गरिरहेको अध्यक्ष महतोले बताए ।